झापा, १७ कात्तिक । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको पटका झापा प्रहरीले बरामद गरेको छ। आइतबार दिउँसो करिब ४स्३५ बजे झापा गाउँपालिका–२, कुवाडीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले अन्दाजी १ लाख रुपैयाँ बराबरको दुई बोरा पटका बरामद गरेको हो। इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक सुवास ढुङ्गाना र सशस्त्र प्रहरी बल बीओपी टाघनडुब्बाका सशस्त्र प्रहरी हवल्दार भरत चौधरीको कमाण्डमा खटिएको टोलीलाई देख्ना साथ ओसारपसारमा संलग्न व्यक्तिहरू पटका छाडेर फरार भएका थिए। बरामद पटका इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।
त्यसैगरी, आइतबार बिहान १० बजे भद्रपुर नगरपालिका स्थित बैजु साहको घरपछाडि झाडीमा लुकाइ राखिएको ५० हजार रुपैयाँ बराबरको पटका बरामद गरिएको छ। गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी सहायक निरीक्षक श्यामकृष्ण यादव र सशस्त्र प्रहरी बल नं. २ गण झापाको संयुक्त टोलीले ‘जगमग चकलेट’ नामक १०० प्याकेट पटका बरामद गरेको हो। बरामद गरिएको उक्त पटका हाल वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ।










