झापा,२७ कात्तिक । सुख्खा मौसम शुरु भएसंगै झापामा आगलागीका घटनामा वृद्धि भएको छ । हिजो बिहिबार एकैदिन जिल्लाका दुई ठाउँमा आगलागी भएको हो ।हिजो मध्यान्ह १२ बजे भद्रपुर नगरपालिका वडा नं ९बस्ने दाहिराम दंगालको एकतले घरमा कोही नभएको अवस्थामा आगलागी भएको छ । घरको कोठाभित्र खाटमाथि राखेको टीनको बाकसमा आगलागी भई बाकसभित्र राखेको सुनचाँदीको कागजपत्र, स्कुलको सर्टिफिकेट जग्गाधनी पुर्जा र नगद अन्दाजी ९ हजार रुपैयाँ जलेर नष्ट भएको छ । आगलागीबाट अन्य क्षति नभएको र उक्त आगो दिउँसो १२ः२० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
त्यस्तै हिजो बिहान १० : ३५बजे शिवसताक्षी नगरपालिका–८ढुंगेल चोक बस्ने दिलिप बस्नेतको आफ्नै घरको पछाडी रहेको १५कठ्ठा खेतको धानको दुईवटा कुन्यूमा ढुंंगेल आफैले फोहोर जलाउने क्रममा आगलागी भएको छ । उक्त धानको कुन्यू आंशिकरुपमा जलेर नष्ट हुँदा अन्दाजी ८० हजार बराबरको क्षति भएको छ ।बिहान १०ः ४५बजे जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर शिवसताक्षी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहान ११ ः २०बजे पूर्णरुपमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










