झापा, १ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले आज देखि दुई महिने मेची–महाकाली पदयात्रा शुरु गर्नु भएको छ ।जनताको समस्या र गुनासा सुन्न सर्लाही क्षेत्र नम्बर ४ का संघीय सांसद सिंहले आज बिहान ९ बजे भद्रपुर –५ स्थित मेची पुलबाट सो पदयात्रा शुरु गर्नु भएको हो। मेची पुलमा रास्वपाका सांसद डा.अमरेशकुमार सिंह , झापाका सांसदहरु प्रकाश पाठक, शम्भुप्रसाद ढकाल र पार्टीका कार्यकर्ताहरु गरी अन्दाजी ५० जनाको उपस्थितिमा पदयात्रा शुरु गरिएको हो ।
दुई महिने मेची–महाकाली पदयात्रा गर्न सांसद सिंह हिजो साँझ ७ः२५ बजे जनकपुरबाट भद्रपुर आइपुग्नु भएको थियो । हिजो बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा आयोजित एक विशेष कार्यक्रमका बीच पदयात्राको उद्घाटन गर्नु भएको थियो । पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुने जनाइएको छ ।










