धरान,६ मंसिर । प्रहरीले धरानबाट पाँच क्विन्टल गाँजासहित एक जना र स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ ।शनिबार राति करिब ११ः३० बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियोलाई धरान–२ भानुचोकमा रोक्न खोज्दा चालकले नरोकी भागेका थिए । त्यसपछि प्रहरीले गाडी पछ्याउँदै धरान–८ स्थित सेउती पुलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख विष्णुबाबु राईले जानकारी दिनु भयो।
गाडी जाँच गर्दा १६ वटा कालो बोरामा राखिएको चार क्विन्टल ९९ किलो गाँजा बरामद भएको राईले बताँउनु भयो।गाँजासहित विराटनगर महानगरपालिका–१३ झमेलीचोकका ३२ वर्षीय चालक अजयकुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गाँजा र गाडी इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।










