काठमाडौं,९ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गर्नु भएको छ।लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैंगिक हिंसा मानव अधिकारको गम्भीर उल्लंघन हुनुका साथै समतामूलक समाज निर्माणको प्रमुख चुनौती रहेको बताँउनु भएको छ।उहाँले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदाय लैंगिक हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै डिजिटल माध्यमबाट हुने हिंसा पनि पछिल्लो समय थप चुनौतीका रूपमा देखा परेको बताँउनु भएको छ।
संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच तथा दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ।प्रधानमन्त्री शाहले लैंगिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताँउनु भएको छ।यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतनाको अभिवृद्धि, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
यसै वर्ष भदौमा भोटेकोशी क्षेत्रमा गएको बाढीको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री साहले विपतका समयमा लैंगिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहन पनि आग्रह गर्नु भएको छ।अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता तथा आमनागरिकको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको उहाँले बताँउनु भएको छ।प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु भएको हो।
संयुक्त राष्ट्रसंघले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट होऔँ ?न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित अभियान सञ्चालन गर्न आह्वान गरेको छ।नेपालमा भने ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान सञ्चालन भइरहेको छ।प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रमले लैंगिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै अभियानको सफलताको कामना गरेका छन्।










