दमक। १३ मंसिर | पतञ्जली दमक नगर समिति तथा पतञ्जली सांस्कृतिक नगर समितिको आयोजनामा झापाको दमकमा बृहत् कार्यक्रम सम्पन्न भएको छ। करिब ५५० जनाको सहभागिता रहेको कार्यक्रममा १९१ जनालाई आशायक शिक्षा प्रमाणपत्र वितरण गरिएको छ।
पतञ्जली दमक नगर समितिका अध्यक्ष किरण उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पतञ्जलीका केन्द्रीय गुरु निश्चित चौधरी, प्रदेश महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, जिल्ला अध्यक्ष देवी घिमिरेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा झापाका विभिन्न पालिकाबाट आएका गुरु तथा साधक, कमल गाउँपालिकाका गुरुहरू, दमकमा आबद्ध गुरुजन, ३६ वटा साधना संयोजक, वडा संयोजक तथा साधकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा आशायक शिक्षा हासिल गरेका १९१ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो। त्यसैगरी अतिथिहरूलाई सम्मान तथा पतञ्जली दमक नगर समितिका तर्फबाट प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई २ हजार रुपैयाँ, द्वितीय हुनेलाई १ हजार ५०० रुपैयाँ, तृतीय हुनेलाई १ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप ५०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको थियो।
पतञ्जली दमक नगर समितिका अध्यक्ष किरण उप्रेतीको नेतृत्वमा आयोजित कार्यक्रमको व्यवस्थापनमा महासचिव शेखर अधिकारीलगायत समितिका पदाधिकारी तथा सदस्यहरू सक्रिय रहेका थिए।
योग, शिक्षा, सम्मान र मनोरञ्जनलाई समेटेर आयोजना गरिएको कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।










