"डेंगुको बढ्दो त्रास"

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

दमक २४ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

 

 

मन्त्रालयले लामखुट्टेका कारण डेंगुको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जनाउनु भयो ।

 

मन्त्रालयले आ-आफ्ना कार्यालयमा डेंगु सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको प्रवक्ता बुढाथोकीले उल्लेख गर्नुभयो । सरकारी अस्पतालमा उपचार गराउने डेंगु संक्रमितको उपचार खर्च सरकारले व्यहोर्नेगरी मन्त्रालयले सरकारी अस्पताललाई उपचार व्यवस्थापन मिलाउन आग्रह गरिएको बताउनु भयो । साथै त्यस्ता अस्पतालमा परिसरमा ‘डेंगु डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।

 

प्रवक्ता बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेङ्गी सङ्क्रमण नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेंगुको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो ।
यो वर्ष ७३ जिल्लाका दुई हजार तीन सय ६५ जनामा डेंगु सङ्क्रमण भएको र एकजनाको मृत्यु समेत भएको छ ।

Share: