विन्डसर, क्यानडा, ५ भदौ / जहाँ जहाँ नेपालीभाषीहरु पुग्छन्, त्यहाँ त्यहाँ नेपाली भाषा, साहित्य र संस्कृतिसँगै लानु मात्र होइन, त्यसको प्रवद्र्धन र विकास गर्ने काम समेत भएका छन् । यस्तै काममा सक्रिय छ साहित्य परिषद् भूटान । सो संस्थाको ३० औं वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा भव्य साहित्यिक सम्मेलनसहित सम्पन्न भएर नेपाली भाषा, साहित्यको संरक्षणका लागि ठूलो सन्देश दिएको छ ।
कार्यक्रममा भूटानी समुदायका विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मानित गरी नेपाल बाहिर रहेका सर्जकहरुलाई प्रोत्साहित गर्ने र योगदानको कदर गर्ने काम गरिएको छ । अमेरिकामा रहेका उज्यालो खबरका सहयोगी अर्जुन प्रधानलाई पत्रकारिता, केशव बैरागी माइलोलाई साहित्य तथा भाषा सम्पादन, अर्जुन रसाइलीलाई गीतसंगीत, आरबी खडका र डीपी वस्तीलाई गीत, संगीत र साहित्यमा योगदान पुर्याएको भन्दै सम्मानपत्रले सम्मानित गरिएको छ । कृष्ण दंगाल र गोमा अधिकारीलाई नेपाली भाषा कक्षा संचालनमा महत्वपूणर् योगदान पुर्याएकोप्रति पनि उसैगरी प्रमुख अतिथि गीता खत्री र संस्थाका क्यानडा शाखा अध्यक्ष खगेन्द्र गौतमले सम्मानित गर्नुभयो ।
सो अवसरमा ‘प्रहेलिका’ उपन्यासका लागि जे एन दाहाललाई एक हजार एकसय डलर सहित ‘हिमटीका आख्यान पुरस्कार’ प्रदान गरिएको छ ।
कार्यक्रममा डा. लक्ष्मी नारायण ढकालले ‘भाषाको समस्या र समाधानको दिशा’ भक्त घिमिरेले ‘देश सम्झने प्रस्तावना’, र भोला सुवेदीले ‘हाम्रो भाषा संस्कृति र पहिचानको लक्ष्य चिन्तन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
स्व. देविभक्त लामिटारेको ‘दन्किँदो भूटान’, बी. पी. शर्माको ‘म सिङ्गै हराउन लागिरहेको छु एउटा शहर भित्र’, तुम्बेहाङ लिम्बुको ‘आगोको बिउ’, र हेम गुरागाईंद्वारा अनुदित पुस्तक ‘दि प्लेग- विटनेस’ को विमोचन समेत गरियो । लेखक र प्रकाशकहरूले भूटानी साहित्यको विकास र संरक्षणमा नेपाली भाषी भूटानी पाठकको महत्वबारे प्रकाश पार्नुभयो ।
प्रमुख अतिथि गीता खत्रीले आफ्नो कविता मार्फत नेपाली स्रष्टा र नेपाली भाषी भुटानीहरू बीचको प्रगाढ सम्बन्धले साहित्य विश्वभर फैलिँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
नेपालीभाषी भुटानी र नेपालीभाषी नेपाली सर्जकबाट रचना वाचन र गायनका प्रस्तुति पनि भए । जसमा नवीन प्राचीन, विश्वास लामा, ओम ढुंगेल, जय हुँमागाई, मदन दुलाल, भरत तिम्सिना, धर्मेन्द्र तिम्सिना “क्षितिज”, तुलसा अधिकारी, सिद्धान्त ढुंगाना, हर्षित सिग्देल लगायतका नयाँ र पुराना स्रष्टाहरूले रचना वाचन गरेर कार्यक्रमको गरिमा बढाउनु भयो । जसमा बाल प्रतिभाहरू क्षितिज गौतम र निकुम्ज आचार्यले कविता वाचन तथा रिया र रिदम रिजालले ‘फूलको आँखामा’ गीत प्रस्तुत गर्नुभयो ।
संस्थाका केन्द्रीय अध्यक्ष गंगा लामिटारेले भाषा साहित्यको लडाईं एक्लै अघि जान नसक्ने भन्दै यसलाई बचाउन र अघि बढाउन नयाँ पुस्तालाई आग्रह गर्नुभयो । स्थापना कालदेखि सक्रिय लामिटारेले परिषद् अघि बढाउन २५ हजार डलरको अक्षयकोष स्थापनाका लागि प्रतिबद्धता जनाउँदा त्यहाँ हर्षको माहोल बनेको थियो ।
कार्यक्रममा अष्ट्रेलियामा रहेर काम गरिसक्नुभएका ओम ढुंगेल, ओहायो सिटी काउन्सिलर भुवन प्याकुरेल, अनेसासका भूपू अध्यक्ष गोवर्धन पुजा, विमला ढुंगाना, डा. गोविन्द सिंह रावत, चित्र प्रधान, राम खत्री, कलाकार मनोज राई लगायत अमेरिका र क्यानाडाबाट तीन दर्जन भन्दा बढी लेखकहरूको उपस्थिति थियो ।
नेपालीभाषी भुटानी र नेपालीभाषी नेपालीहरु मिलेर आफ्नो देश बाहिर गरिएको यसखाले कार्यक्रम नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि महत्वपूणर् कदम बनेको देखिन्छ । अनि देशबाट जबरजस्ती निकाला भएर नेपालहुँदै तेस्रो मुलुक पुर्याइएका भुटानीहरुका लागि स्वदेशप्रतिको अगाध माया स्मरण गराइरहेको अनुभूति हुन्छ ।









