दमक, ९ भदौ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले कक्षा ११ को परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विभिन्न संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी हिसानले उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।
कक्षा ११ को विज्ञान संकायको परीक्षामा ग्लोबल एकेडेमी दमकका रुपेश नेपाल जिल्ला प्रथम र निदि सेकेन्डरी स्कुलका विजय पाण्डेले दोस्रो भएर पुरस्कृत बन्नु भयो । बिजनेस स्टडीतर्फ एकता एकेडेमी दमकका मेलिसा भट्टराई प्रथम, न्युटन्स एजुकेसन एकाडेमीकी सावित्रा न्यौपाने दोस्रो हुनुभयो । बिर्ता मोडलकी निर्जला राई, निदि स्कुलका अमित कट्टेल, ग्लोबलकी निर्जला निरौला र एमिटीका जेनिस भण्डारी तेस्रो बनेर पुरस्कृत हुनुभयो । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ५ हजार, ४ हजार र २ हजारका दरले पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख जीवन गड्तौलाले विद्यार्थीको रुचि, योग्यता, क्षमता पहिचान गर्न सके मात्रै दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउनु भयो । विश्वसनीय र वैधता हुने गरी विद्यालय तहमा मार्किङ स्किम बनाएर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ ।
सो अवसरमा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले अहिलेका विद्यार्थीलाई ज्ञान दिएर मात्रै नपुग्ने भन्दै सीप प्रदान गर्नु महत्वपूर्ण पक्ष भएर आएको बताउनु भयो ।
बिर्तामोड नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राहुल शर्माले विद्यार्थीलाई भविष्यका कर्णधार भनेर मात्र नपुग्ने बताउँदै उनीहरूलाई वर्तमानका साझेदारका रुपमा बुझ्नुपर्ने उल्लेख गर्नुभयो ।
हिसान झापाका सचिव देवेन्द्र हुमागाईंका अनुसार उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रेरित र प्रोत्साहित गर्दै आइरहेको छ । उत्कृष्ट भएका विद्यार्थीले मासिक शुल्कमा समेत छात्रवृत्ति पाउने व्यवस्था रहेको सचिव हुमागाईंले जानकारी दिए ।
कार्यक्रमका अध्यक्ष हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले उत्कृष्ठ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रेरित र प्रोत्साहित गर्दै आइरहेको जनाउँदै कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको बताउनु भयो ।