भवन निर्माणको बजेट समेत माग गर्दै मन्त्रालयमा डेलिगेशन

पथरी, १० भदौ मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको बजेट सहितका योजना माग गर्दै नगरपालिकाका जनप्रतिनिधिहरूको टोली संघीय मन्त्रालयमा डेलिगेसन गएको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढेसँगै डेलिगेसन टोलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका अध्यक्ष, पूर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव योगेश भट्टराई, पूर्वमन्त्री नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल सहितलाई भेटेको छ । नगरप्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशी राई , नगरप्रवक्ता नवीन कार्की, वडाध्यक्ष नैना राई सहितको टोलीले भेट वार्ता गरेको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाको भूमि समस्या समाधान पहल समितिका सचिव देवेन्द्र वनेम तथा पदाधिकारी सहितको सो टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीसँग आवश्यक छलफल गरेको छ । जग्गा सम्बन्धी समस्यालाई समाधान गर्नका लागि पूर्व मन्त्री भानुभक्त ढकाल, लेखा समितिका सभापति ऋषिकेश पोख्रेल, मोरङ निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद् डा. शुनिल शर्मा, शहरी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी र सचिवसँग भेटघाट तथा छलफल गरी ध्यानाकर्षण गराएको छ ।

 

आफ्नै प्रशासनिक भवन निर्माणका लागि संघीय सरकारको निर्णयलाई पनि पर्खिरहेको पथरी नगरपालिकाका जनप्रतिनिधिहरूको भ्रमण टोलीले जग्गा प्राप्तिका लागि समेत मन्त्रालयमा छलफल गरेको नगर प्रवक्ता नवीन कार्कीले जनाउनु भयो ।
नगरको १५ औं नगर सभाले कूल ८ करोड ४१ लाख ८ हजार रूपैयाँ मध्येंबाट पालिकाको प्रशासनिक भवन बनाउन कूल ४ करोड ७० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ ।

 

टोलीले वडा न ४, ८,९ र १० वडाहरूलाई छुँदै गएको मनमोहन गान्धी मार्गको निर्माणमा भएको ढिलासुस्तीले त्यहाँका स्थानीय जनप्रतिनिधि तथा आम जनसमुदायले भोगेको दुःखको विषयमा ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनका प्रमुख तथा उर्जा राज्यमन्त्री पुर्णबहादुर तामाङलाई समेत सिंहदरवारमा भेटेर सुस्त गतिको निर्माण कार्यलाई गति दिन अनुरोध समेत गरेको छ । भेटमा अब चाँडै काम पुनः सुरु गरेर आगामी चैतसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

 

सोही क्रममा टोलीले डा. सुनिल शर्मासँग सुनझोरा पुल निर्माण, पथरी डाईनिया सडक, मनमोहन गान्धी सडक, वडा नम्बर ३ झोलुगें पुल लगायतका विषयमा पहल बढाइदिन पनि छलफल गरेको जनाइएको छ ।

Share: