पथरी शनिश्चरेमा २५ जनामा डेंगु संक्रमण, ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम

पथरी, १२ भदौ ।  मोरङको पथरी शनिश्चरेमा डेंगुको संक्रमण बढेपछि त्यसको रोकथाम तथा नियन्त्रण सम्बन्धि कार्यक्रम वडा वडामा सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

 

यस क्रममा वडा नम्बर ३ मा डेंगु संक्रमण वृद्धि भएसँगै बुधबार वडा कार्यालयले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबारे बजारमा ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सम्पन्न गरिएको छ ।

 

विशेष गरेर वडाको पिपल चौक, सेर्मा चौक, सगरमाथा टोल र मगर टोलमा डेंगु संक्रमण भएपछि वडावासीलाई सतर्क रहन सो कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सिअहेव एकराज खत्रीले सहजीकरण गर्नुभएको थियो । वडाध्यक्ष विजय लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । अब वडाले हरेक टोल टोलमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।
वडाले यसभन्दा अघि पनि ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम गर्दै आइरहेको आधारभूत स्वास्थ्य केन्द्रका अहेव आशिष गौतमले जानकारी गराउनुभयोे । नगरपालिकामा हालसम्म २५ जनाई डेंगु संक्रमण भएको स्वास्थ्य शाखाले जनाएको छ ।

 

कार्यक्रममा वडाका विद्यालयका प्रअहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, वडाका स्वयंसेविका र वडावासीहरुको उपस्थिति रहेको थियो ।

Share: