दमक, भदौ १३/
दमक नगरपालिका वडा नं ४ र ९ को भुगोलमा फैलिएको हिमालय महालक्ष्मी चिया बगान छ । यहाँ ५ सय भन्दा बढि कामदार रहेका छन् । यहाँ काम गर्ने कामदार र कामदारका परिवारको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारेमा थाह पाउन यहाँ एउटा स्वास्थ्य शिविर गरिएको छ । त्यो पनि आयुर्वेद ।
एलोपेथिक स्वास्थ्य शिविर भन्दा राम्रो, सस्तो र भरपर्दो समेत हुने भएकोले यो आयुर्वेदिक स्वास्थ्य शिविरनै आयोजना गरिएको शिविर आयोजना गर्ने लायन्स क्लव अफ झापा दमकका सस्थापक अध्यक्ष अशोक चौधरीले बताउनु भयो ।
चिया बगानमा काम गर्ने मजदुरहरुमा खासगरी बाथ, पायल्स र छालाको समस्या देखिन थाल्यो । यस्ता खाले रोगका कारण मजदुरहरुले हैरानी खेपेको थाह पाएपछि बगानको प्रशासनले यहीनै विषेशज्ञ सहित ल्याएर स्वास्थ्य शिविर गर्ने निर्णय गर्यो । त्यसपछि यी रोगहरुको जटिलता पनि बुझ्न र औषधी पनि निशुल्क उपलब्ध हुनेगरिको शिविर व्यवस्थापन गरिएको हिमालय महालक्ष्मी चिया बगानका कार्यकारी प्रमुख श्यामल सुब्बाले जानकारी दिनु भएको छ।
यो शिविरमा आउनेहरु सबैजना मजदुर थिए । वा त मजदुरका परिवार । अनि यहीँ कार्यरत अन्य कर्मचारी जसमा पायल्स, बाथ एवं छालाको समस्या छ भने उनीहरुले पनि विषेशज्ञ सहितको चिकित्सकीय टोली बगानभित्रै आएको बेला परीक्षण गराएका थिए । यसरी काम गर्ने ठाउँमै आएर शिविर चलाई औषधी समेत उपलब्ध गराएको भन्दै यहाँ परीक्षण गर्नेहरुले खुसी व्यक्त गरेका थिए ।
झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेदिक अस्पतालको जम्बो टोली चिया बगानभित्रै आएर यो शिविर सम्पन्न गरेको थियो । तीन जना विषेशज्ञ सहितको टोलीले यहाँ आएर सेवा दिएका थियो भने औषधी पनि निशुल्क वितरण भएको थियो ।
आयुर्वेद अस्पतालका लागि यो ठाउँ नौलो थियो । एकै ठाउँमा एउटै वर्गका बिरामीको स्वास्थ्य परीक्षण गर्ने मौका पनि थियो । यो शिविरले मजदुरको स्वास्यथ्यको अवस्थाका बारेमा मनग्गे अध्ययन गर्न सकिने आधार तय भएको अस्पतालका निर्देशक डा. सिदार्थ ठाकुरले बताउनु भयो ।
यो अस्पतालले आगामी शनिबार कमल गाउँपालिका वडा नं ६ मा मोवाईल स्वास्थ्य शिविर समेत गर्ने जनाएको छ । नागरिकसंग जोडिएर नयाँ नयाँ काम गर्दै आयुर्वेद उपचारप्रतिको विश्वास बढाउने काममा आफुहरु लागिपरिरहेको डा. ठाकुरको भनाई छ ।