पथरी, १४ भदौ / मोरङको पथरी शनिश्चरे नगरक्षेत्रका विद्यालयमा शिक्षालाई सीपसँग जोड्ने कार्यक्रम अघि बढाइएको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोले शुक्रबार वडा नम्बर ८ को आयोजनामा बुद्ध माविमा भएको ‘शिक्षासँग सीप कार्यक्रम’को उद्घाटन गर्दै यस कार्यक्रमले विद्यार्थीहरूलाई आधारभूत मात्रामा भएपनि ज्ञान प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘नगर र वडाले शिक्षासँग सीप कार्यक्रम लिएर आएको छ । यसलाई सार्थक तुल्याउन शिक्षक साथीहरू र अभिभावकहरूले चासोका साथ लाग्न अनुरोध गर्दछु ।’
८ नम्बर वडाध्यक्ष नविन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले सीप सहितको शिक्षा आजको आवश्यकता भएको बताउँदे नगरको कार्यक्रमको स्वागत गर्नुभयो । ‘वडा नम्बर ८ को इच्छा हरेक शुक्रबार जीवनोपयोगी शिक्षा’ भन्ने नारासँगै उद्घाटन गरिएको यस कार्यक्रमको समन्वय बुद्ध मावि, दुर्गा आधाभूत विद्यालय र मिलन आधारभूत रहेका छन् ।
तेक्वान्दोतर्फ विक्रम माझी, हाउस वाइरिङतर्फ टेकेन्द्र सुवेदी र भूपेन्द्र राई, प्लम्बिङतर्फ देवप्रकाश राई, पशु सेवा तालिमतर्फ पुष्प पौडेल र अर्जुन काफ्ले, सिलाई/ कटाई फेसन डिजाइनतर्फ कविता चौधरीले सो कार्यक्रममा सीपका बारेमा सहजीकरण गर्नुभयो ।