अमेरिका, २० भदौ / अमेरिका नेवार समाजले ओहायोको क्लीवल्याण्डमा दोस्रो पटक भेटघाट कार्यक्रम २०२४ आयोजना गरी नेवारी संस्कृति र युवा सहभागिता महोत्सव सम्पन्न गरेको छ ।
कार्यक्रममा अमेरिकास्थित उज्यालोखबरकर्मी अर्जुन प्रधानसहित ज्येष्ठ नागरिककासाथै गीतसंगीत, साहित्य क्षेत्रका व्यक्तित्वहरु सम्मानित हुनुभएको छ । प्रधानलाई कला, साहित्य, संस्कृति, पत्रकारिता तथा समाजसेवामा योगदान पुर्याएकोमा कदरपत्रले सम्मानित गरिएको हो । कार्यक्रममा साहित्यमा निरन्तर योगदान पुर्याएकोमा साहित्यकार लीला निशा प्रधान (सुब्बा), नर प्रधानद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मार्फत पहिलो डेब्यु गरेकी नेवारी भाञ्जी आयुषा समाल, र नेपाली चलचित्रकी सफल नायिका मेलिना मान्धरलाई सम्मान गरिएको छ । त्यस्तै, गीत-संगीतमा भक्त प्रधान, ललिता प्रधान र गायिका मिलन नेवारलाई कदरपत्रले सम्मान गरियो ।
रेडियो नेपालका वरिष्ठ बांसुरी वादक सुशील विश्वकर्मा र अन्य सहयोगीहरूले मौलिक नेवारी बांसुरीको धुनबाट कार्यक्रममा स्वागत गरिँदा नेपाल झलझली स्मरण भएको थियो ।
कार्यक्रममा नेवारी संस्कृतिको धिमे नृत्यका साथै अमेरिकाका विभिन्न राज्य र क्यानडाबाट पनि युवाहरूले अभिनय, गायन, र नृत्य प्रस्तुत गरेका थिए । नेवार समाज ग्रेटर क्लीवल्याण्डले ६५ वर्षभन्दा माथिका सत्तरी जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेर नेवारी समुदायका नयाँ पुस्तालाई प्रोत्साहित गरेको थियो । कार्यक्रममा अमेरिका, क्यानडा, र न्युजिल्यान्डका नेवारी समुदायको बाक्लो उपस्थिति रहेको थियो । बालबालिकादेखि ज्येष्ठ नागरिकहरूले नेवारी पोशाकमा आएर कला, साहित्य, र सांस्कृतिक पहिचान देखाएका थिए, जसप्रति प्रचारप्रसार संयोजक कमल प्रधानले खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष गणेश प्रधानले नेवार जातिहरूको एकतामा बल भएको उल्लेख गर्दै यसलाई निरन्तर अघि बढाउन युवाहरूको महत्वपूणर् भूमिका रहनुपर्ने भन्दै नयाँ समितिका लागि स्वेच्छाले सहभागिता जनाउन आग्रह गर्नुभयो । यसैक्रममा सात केन्द्रीय समितिलाई आयोजकले कदरपत्रबाट सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै सम्मानित पत्रकार अर्जुन प्रधानले नेवार जातिहरूको विकास तथा भाषा, साहित्यप्रतिको अभ्यास सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेवारीहरूमा साझा लक्ष्यहरू प्राप्त गर्न र चुनौतिहरू पार गर्नमा नेवारी युवाहरूको भूमिका र योगदानका विषयमा अंकित प्रधान, एन्जल प्रधान, मैसमी प्रधान, हिरण प्रधान, आकास प्रधान, सन्तोष प्रधान, जेम्स प्रधानले मन्तव्य व्यक्त गर्नुभयो । शिक्षा, कला, खेलकुदमा उत्कृष्ट स्थानमा रहेका युवाहरूलाई युवा संयोजक द्रौपदी प्रधान र लाल प्रधानका साथ विशेष अतिथिहरूले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति र नेपाली संगीतकी बहुप्रतिभाशाली गायिका मिलन नेवारले नेवारी पोशाकमा सजिएर मञ्चबाट आफ्नो अनुभव र युवाहरूलाई गीत-संगीतमा लाग्न प्रेरणा दिनुभएको थियो ।
साथमा, नेवारी कलाकारहरू कृष्ण प्रधान, ललिता प्रधान, जीवन प्रधान, लाल प्रधान र भक्त प्रधानले आफ्नो कलाबाट सबैलाई मनोरञ्जन दिलाउनु भयो ।
यसरी, नेवार समाज अमेरिकाको दोस्रो भेटघाट कार्यक्रमले नेवारी समुदायको एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको सांस्कृतिक संयोजक नारायण प्रधानले जानकारी गराउनु भयो र सबै सहयोगी दाताहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।