पथरी, १९ असोज / पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलमा रहेको दुर्गा माध्यमिक विद्यालयले विद्यार्थी संख्या बढाउने उपाय स्वरुप सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, अभिभावक र सरोकारवालाहरु सेवा क्षेत्र भित्रको प्रत्येक घरमा हिंडिरहेका छन् । असोज ११ गतेबाट सुझाव संकलन गर्न सुरु गरेको घरदैलो अभियान दैनिक रुपमा बिहान ७ बजेदेखि ११ बजे संचालन गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक केशव न्यौपानेले जानकारी दिनु भयो ।
पथरी शनिश्चरे नगरपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या न्यून भएको र यस्तै रहेमा कक्षा घटुवा हुने पत्राचार गरेपछि विभिन्न कार्यक्रम गर्दै आएको यस विद्यालयले हाललाई घरदैलो अभियान संचालन गरिरहेको छ ।
असोज ११ गतेदेखि आज असोज १९ गतेसम्म करिब ५ सय घरमा गएर सुझाव लिने काम भएको सोही विद्यालयमा कार्यरत शिक्षिका लक्ष्मी नेपाल बस्नेतले बताउनु भयो । विद्यालयको खस्कदो अवस्थालाई मध्यनजर गरेर घरदैलो गर्दा अभिभावकबाट राम्रा सुझाव आएको र त्यसलाई अनुमोदन गर्दै कार्यान्वयनको पाटोमा लगिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले सुनाउनु भयो ।
विगत केहीवर्ष अगाडिदेखि विद्यालय प्रशासन, अभिभावक र स्थानिय सरोकारवालाहरुसँग एक आपसमा समन्वय नहुँदा समस्या आएको स्थानीयहरु बताउँछन । सुझाव संकलनको क्रममा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरु लाग्नु पर्ने, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, विद्यालयको भौतिक पूर्वाधार व्यवस्थित गर्दै शौचालय सफा राख्नुपर्ने, जाँड रक्सी नखाने शिक्षक हुनु पर्ने, यातायातको व्यवस्था गर्नु पर्ने लगायतका सुझावहरु पाएको अभियान टोलीका एक सदस्यले बताए ।
यति सुझावहरु कार्यान्वयन भएमा आफ्ना छोरा छोरी यस विद्यालयमा पढाउने वचनवद्धता अभिभावकहरुबाट पाएको जनाइएको छ ।









