पथरी, २१ असोज /
मोरङको पथरी शनिश्चरे नगरपालिकाले दशैंको समयमा उपभोक्ताहरुलाई स्वच्छ खाद्यपदार्थ उपभोगको अधिकारलाई सुनिश्चित गर्न सोमबार गरिएको अनुगमन्मा अखाद्य माछा सहितका मिति गुज्रेका खाद्य पदार्थ फेला परेका छन् ।
उप-प्रमुख एवं अनुगमन समितिका संयोजक देवीमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । माछा पसलहरुमा फ्रिजमा राखिएका खान अयोग्य माछाहरुलाई नियन्त्रण गरी नष्ट गरिएको छ ।
३५ वटा किराना पसल तथा माछा पसलहरूको अनुगमनमा म्याद नाघेका खाद्यान्न लगायतका किराना सामग्री, पेय पदार्थहरु नष्ट गरिएको थियो । अनुगमनका क्रममा पसल दर्ता भए नभएको र नविकरण नभएकाहरुलाई तुरुन्त नवीकरण गर्न निर्देशन दिइएको थियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य एवम् वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, वडा नं. १ का अध्यक्ष भीम राई, वडा सदस्यहरू, नगरका राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थ्य शाखा सिअहेव अधिकृत एकराज खत्री, प्रा.स. पशुपंक्षी शाखाका जनक चौधरीका साथै इलाका प्रहरी कार्यालय पथरीका प्रतिनिधिहरू र नगर प्रहरीहरूको उपस्थिति रहेको थियो ।









