दमक, कार्तिक २ /
भारतका पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलाम फाउण्डेशन् कोलकाताद्वारा अन्तरराष्ट्रिय कवि सम्मेलन १५ अक्टोबर २०२४ मा सम्पन्न भएको छ ।
भारतका पूर्व राष्ट्रपति कलामका नाममा स्थापित यस संस्थाले कलामको ९३ औं जन्मोत्सवको सन्दर्भमा टाउन हल हवाई कोलकातामा सो कार्यक्रम आयोजना गरेको थियो । जसमा नेपालबाट पनि कविहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सुरुवातमा नै कलाकारहरूद्वारा बङ्गाली नृत्य, भारतीय सांस्कृतिक नृत्य, भरत नाट्यम, रविन्द्र नाट्यम, राजस्थानी भङ्डा नृत्य र मिले सुर मेरा तुमारा गीतमाथि नृत्य प्रस्तुत गरिएका थिए ।
अमेरिका, कतार, श्रीलंका, बंगलादेश, भुटान, नेपाल र भारतका विभिन्न प्रान्तबाट कविहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको कार्यक्रममा मेघालय लोकसभाका सभामुख थोमस एस साङ्माको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, विशिष्ट अतिथिहरूमा पश्चिम बंगालका उद्योग मन्त्री अरूप राय तथा प्रकोप व्यवस्थापन मन्त्री डा. जावेद अहमद लगायतका विभिन्न प्रशासनिक ओहोदाका व्यक्तिहरू, सामाजसेवीहरू समेत थिए ।
सांस्कृतिक झाँकीहरू अगाडि लगाउँदै, खदा, माला पहिर्याएर स्कटिङ गर्दै, पञ्चक ताली, पुष्पवृष्टिसमेत गराएर पाहुनालाई स्वागत गरी कार्यक्रम हलमा भित्र्याइएको थियो । कार्यक्रममा विभिन्न विधामा कलम चलाउनुहुने दर्जनबढी स्रष्टाहरूलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनुहुने स्रष्टाहरूमध्ये नेपालबाट दमकस्थित विष्णु न्यौपाने र मेचीनगरकी सुभद्रा भट्टराई, सिलगढीबाट ललिता जोशी क्षेत्री, दार्जीलिङबाट शारदा स्टेफी, कतारको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुहुने नेपाली मूलका कवि रम्जान अलिमियाँ, असमबाट दीपामणि कोच र हाल अमेरिका बस्दै आउनु भएका साहित्यकार मोहन सिटौला लगायत रहनु भएको छ ।

चार चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा कविहरूलाई स्टेजमा राखी सम्मानका साथ आआफ्नो मातृभाषामा रचित कविता पाठ गराइएको थियो । दोस्रोचरणमा शुभकामना मन्तव्य दिनुहुने अतिथिहरूलाई मञ्चासिन गराइएको थियो भने तेस्रो चरणमा पुरस्कार तथा सम्मान र चौथो चरणमा कोरियोग्राफर दीलिप थापा मगरद्वारा तयार गरिएको नेपाली सांस्कृतिक नृत्य, बंगाली लोकनृत्य र गायिका शारदा स्टेफीद्वारा हिन्दी गीत प्रस्तुत गरिएको कार्यक्रममा सहभागि विष्णु न्यौपानेले उज्यालो खबरलाई जानकारी गराउनु भयो ।
संस्थाले भाषा साहित्यका अतिरिक्त पिछडिएका महिला तथा बालबालिकाहरूका लागि शिक्षा दिलाउने, स्वास्थ्योपचार गराउने, सीपमूलक तालिमहरू सञ्चालन गर्ने, स्वरोजगारका लागि मजबुत बनाउने लगायतका कामहरू पनि गरिरहेको संस्थाका संस्थापक तथा सचिव अब्दुल खलिकले कार्यक्रममा जानकारी गराउनु भयो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अजयकुमारले गर्नुभएको थियो ।









