दमक, कार्तिक २२
दमक नगरपालिका अन्तर्गत रतुवा खोलाको किनारमा धेरैको उपस्थितीमा छठ पूजा हुँदै आएको छ । दमक बजारको नजिकै पर्ने अनि निरन्तर पानी बगिरहने ठाउँ भएकाले रतुवा छठ पर्वका लागि रोजाईको स्थल बन्दै आएको हो । तर यहाँ एकै ठाउँमा पूजा गर्नुको साटो चार वटा समूहमा विभाजित भएर यो पटकको छठ मनाइएको देखिन्छ ।
सुरु सुरुमा यहाँ पूर्व पश्चिम राजमार्गको उत्तर तर्फ विशालरुपमा छठ पूजा गरिन्थ्यो । तर अहिले भने त्यसो नभएर झुण्ड झुण्ड बनेर पुजा गर्ने गरिएको छ । यसरी हुने गरेको पूजाले दमक क्षेत्रमा छठ पर्व मान्ने समुदायमै एकता रहेनछ भन्ने यो पटक झनै प्रष्टिएको देखिन्छ ।
दमक १ र ७ को सीमानामा अवस्थित नमुना बस्तिदेखि पूर्व पट्टि छठ पूजा आयोजक समितिले २ सयवटा घाटका साथमा आफ्नो तयारी गरिरहेको छ । साथै गंगा आरती र अन्य साँस्कृतिक झाँकी सहितको प्रस्तुति दिने तयारीका साथ यहाँ छठको धमाधम तयारी भइरहेको समितिका अध्यक्ष अशोक चौधरीले जानकारी दिनुभयो ।
यसदेखि दक्षिणतर्फ कलवार समाजले पनि अर्को बेग्लै पूजा गर्ने घाटस्थल, मूर्ति र स्टेजको व्यवस्थापन सहित तयारी गरेको छ ।
अघिल्लो पटक मैथिली सेवा समाजमै मिसिएर छठ पूजा गरेको यो समूहले यो वर्ष भने छुट्टै समाज खडा गरी छठको तयारी गरेको देखिन्छ । उसले ८५ वटा घाट बनाएर त्यसको दक्षिणपट्टि स्टेज बनाएको छ । विभिन्न साँस्कृतिक कार्यक्रम सहित छठ मनाउने तयारीका साथ काम अघिबढिरहेको कलवार समाजका अध्यक्ष विजय शाहले बताउनु भयो । ‘अघिल्लो वर्ष हामीलाई मैथिली सेवा समाजले उपेक्षा गर्यो, हाम्रो क्षेत्रमा बत्तिनै बालिदिएन । त्यही भएर यो पटक चाँहि हाम्रो छुट्टै पूजा गर्ने ठाउँ बनाएर व्यवस्थापन गरिएको हो । ’ अध्यक्ष शाहको भनाई छ ।
यसको ठीक तलपट्टि मैथिली सेवा समाजले पनि छठको तयारी गरिरहेको छ । ८० वटा घाट बनाएर धुमधामका साथ छठ मनाउने तयारी गरिरहेको यसका अध्यक्ष कृष्ण शाहले जानकारी दिनुभयो । ‘हामीहरुले एकीकृत भएर छठ लगाउन निकै प्रयास गर्यौ तर सबैलाई पद चाहिने भएकाले त्यो सम्भव देखिएन ।’ अध्यक्ष शाहको प्रस्टोक्ति छ ।
त्यसदेखि तलतिर मुकेश शाह अध्यक्ष रहेको अर्को छट व्यवस्थापन समिति दमक चोकले छठको घाटस्थल निर्माण गरेको छ । यहाँ पनि पण्डाल लगाएर घाटहरु झकिझकाउ बनाइरहेको छ । अन्त जान टाढा हुने भएकोले दमकको चोक तथा दक्षिण तर्फका भक्तजनहरुको सहजताका लागि यहाँ पूजा गर्ने ठाउँको व्यवस्थापन गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।
यसरी झुण्ड झुण्ड बनेर आयोजना गरिएको छठ एकै ठाउँ भएको भन्दा कम आकर्षक लाग्ने र नगरपालिकाले दिने अनुदान सहयोग कस्लाई दिने कस्लाई नदिने भन्ने समस्या उत्पन्न हुने अवस्था छ । दमक नगरपालिकाले एकीकृत रुपमा छठ पूजा गराउन भन्दै वर्षेनी १० लाख बढी बजेट बिनियोजन गर्छ ।
विशेष त मैथिली समुदायले मनाउँदै आएको छठ पर्वमा पछिल्लो समय सवैजसो समुदायको पनि सहभागिता हुन थाल्नु साँस्कृतिक अन्तरघुलन भएर एकको संस्कार संस्कृतिमा अर्काको समेत सहभागिताले समाजमा थप एकता कायम गर्दछ । तर एकै समुदाय विभाजित हुनुले भनें संस्कृति संरक्षणमा ‘भाइ फुटे गवाँर लुटे’ को स्थिती नहोला भन्न सकिदैन ।









