बिर्तामोड, माघ ८
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव मंगलबारबाट सुरु भएको छ । महोत्सवको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले यसखाले महोत्सवले मुलुकको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाउनु भयो । साथै उहाँले प्रदेशको आर्थिक उन्नतीका गतिविधिमा प्रदेश सरकार लागिरहेको बताउनु भयो ।
महोत्सवको उद्घाटन सत्रमा दर्जनभन्दा बढी विभिन्न जातिका भेषभूषा, बाजागाजा, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी र शुभेच्छुकहरुको उपस्थितिमा नगर परिक्रमा गरिएको थियो । बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडमा माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताउनु भयो ।
महोत्सवस्थलमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । महोत्सवमा महोत्सवमा मित्रराष्ट्र भारत, भुटान, वंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल समेत कुल १५० वटा स्टल रहेका छन् । अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसलाजस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्सवले यहाँका व्यवसायीमार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी वस्तु उत्पादन गरेर रोजगार सृजना गराउन थप बल प्रदान गर्ने विश्वास लिइएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने छ । महोत्सव अवधिभर दुई लाख भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रवन्ध गरिएको आयोजकले जनाएको छ ।