दमक, माघ ९
शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिनुभयो ।
“स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो”, उहाँले भन्नुभयो “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।”
भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गरिएको गुनासो आएको जनाउँदै उनले त्यसलाई रोक्न मरेका माछा बिक्रीमा कडाइ गरिएको नगरपालिकाको भनाई छ । नगरले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा बिक्री भएको थाहा भएमा नगरपालिकामा तत्काल खबर गर्न सार्वजनिक सूचना पनि जारी गरेको छ ।
पाँच वर्षअघि झापाको बिर्तामोड नगरपालिकाले फर्मालिन रसायनको प्रयोग भएका माछाको बिक्री वितरणमा रोक लगाइसकेको छ । झापामा माछापालन उत्साहजनक रहेको र स्थानीय उत्पादनले नै खपत धान्ने भएकाले भारतबाट आयातित मरेका माछाको बिक्रीमा रोक लगाउनु पर्ने उपभोक्ताले माग गर्दै आएका छन् ।