दमक, माघ ११
कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले दमकमा व्यवस्थित विकासको क्रममा बनेको मेची आवास क्षेत्रलाई थप व्यवस्थित बनाउने योजनामा सघाउने बताउनु भएको छ ।
कोशीकै प्रभावकारी सहकारी संस्थाको रुपमा रहेको दमकस्थित मेची सहकारीले वडा नम्बर ४ मा खडा गरेको मेची आवास क्षेत्रमा शुक्रवार आयोजित निःशुल्क दन्त तथा आँखा शिविरको उद्घाटनका क्रममा सांसद थापाले त्यस्तो बताउनु भएको हो । उहाँले मानव स्वस्थ रहने कुरामा यसखाले शिविरको महत्व रहेको उल्लेख गर्दै योजनाबद्ध सहरका रुपमा विकास हुँदै गएको दमक क्षेत्रको विकासका लागि ठूला ठूला आयोजनाहरु अघि बढेको प्रसंग समेत उल्लेख गर्नुभयो ।
मेची आवास टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा, मेची आवास क्षेत्रको थप व्यवस्थापनमा मेची सहकारी र वडा कार्यालयको केही विरोधाभासपूर्ण अवस्था रहँदा बस्ती विकासमा केही समस्या भएको कार्यक्रममा उपस्थित स्थानीय हरि ढकालले भनाई राख्नु भयो ।
कार्यक्रमका अतिथि ४ नम्बर वडाध्यक्ष पुण्यप्रसाद दाहालले वडाभित्रको सो बस्तीको विकास र प्रवद्र्धनका लागि वडा कार्यालयको सधैं साथ र सहयोग हुने कुरामा दुईमत नहुने धारणा राख्नु भयो ।
मेची सहकारी इकाई ३ का संयोजक झसराज ढकालले मेची आवास क्षेत्र नेपालको मात्र नभएर विदेशमा रहने नेपालीहरुका लागि नमूना बस्ती बनेको उल्लेख गर्दै यसभित्रको व्यवस्थापनको बाँकी काम गर्दै लगिने बताउनु भयो ।
मेची सहकारीका सदस्य रहेकाहरुका लागि सो बस्तीमा ५७ घर निर्माण गरी अधिकांशलाई २० वर्षे किस्ताबन्दीमा घर प्रदान गरिएको छ । हालसम्मकै अवस्थामा पनि लहरै एउटै आकारप्रकार रुपरंगका ५ कोठे घर निर्माण भएर रमितलाग्दो बस्ती देखिएपनि त्यहाँ हल, खेलकुदस्थल, पार्कसहितको व्यवस्थापन बाँकी छ ।
बाँकी रहेका काम पुरा गराउन सम्बन्धित सरोकारवाला र सरकारी निकायसँग माग अगाडि बढाइरहेको मेची आवास टोल विकास संस्थाका अध्यक्ष मिलन आचार्यले उल्लेख गर्नुभयो । उहाँले आवास क्षेत्रको थप व्यवस्थापन गरी आकर्षक पर्यटक गन्तव्यका रुपमा समेत अघि बढाउने पहलमा समिति लागेको योजना सुनाउनु भयो ।
कार्यक्रममा, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, आमा डेन्टल केयर क्लिनिकका प्रमुख अर्जुन श्रेष्ठसहितले मेची आवास क्षेत्रको उन्नतीको कामना गर्दै स्वास्थ्य शिविरको उपयोगिताका बारेमा मन्तव्य व्यक्त गर्नुभयो ।
शिविर सहभागि स्थानीयले बस्तीमा विभिन्नखाले शिविर सञ्चालन हुँदा सहजता भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
आँखाका लागि विर्ताज्योति आँखा अस्पतालका डाक्टर मोति बरालको अगुवाईमा एलिजा ठाडामगर र दिपेश गुरागाईं तथा दाँतका लागि आमा डेन्टल केयर क्लिनिकका डाक्टर संगीता बराल र सविना राईले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । दाँतका विरामीका लागि आवश्यक औषधि आमा डेन्टल केयर स्वयम्ले र आँखाका लागि महावीर फार्मेसीका गौतम गुप्ताले सौजन्य गर्नुभएको थियो ।