पथरी, माघ १५
प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपना ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य अनुरुप पथरीशनिश्चरे २ का जनप्रतिनिधिले कार्यक्रम ल्याएका छन् ।
वडाध्यक्ष नैना राईको नेतृत्वसहितको जनप्रतिनिधिले वडावाट गरिव पहिचान गरि रासन कार्डको व्यवस्था गरेका छन् । वडाले गरिवी पहिचान गरि वडाका २० परिवारलाई रासन कार्ड वितरण गरेको हो । एक कार्यक्रमकाबीच वडामा रहेका अति विपन्न परिवारलाई सहायता हुने गरि रासन कार्ड सेवाको सुरुवात गरिएको छ ।
वडा अध्यक्ष राईका अनुुसार वडामा भएका वडा वासीबाट छनौट गरि २० परिवारलाई पहिलो चरणमा ५ देखि १५ केजी चामल प्रदान गर्न सुरु गरिएको हो ।
पहिलो चरणमा रासन कार्ड प्राप्त गर्ने परिवारले आउने असारसम्म मासिक रुपमा चामल प्राप्त गर्ने छन् । यो वर्षबाट वडाको बजेटमा रासन कार्ड कार्यक्रम व्यवस्था गरिएको हो । यो वर्ष १ लाख रुपयाँ वजेट वडाले छुट्याएको छ ।
कार्यक्रममा बोल्दै राईले भन्नुभयो ‘प्रधानमन्त्रीले लिएको सपना सुखी नेपाली समृद्ध नेपाल जुन अभियान छ, यो सपना वडाले समेत पुरा गराउने दायित्वका रुपमा कार्यक्रम ल्याइएको हो । आफ्नो वडाका कुनै पनि वडावासी भोकै नबसुन् भनेर रासन कार्डको व्यवस्था गरिएको छ । कहिले काहिँ चामल वाँढ्न राहातका कार्यक्रम वडाले गरेपनि यस वर्षबाट वडावासीको गाँस, वास र कपासको सुनिश्चितताका लागि रासन कार्डको कार्यक्रम ल्याइयो ।’
वडाको टोल विकास समितिले दिएका नामलाई जनप्रतिनिधिले घरमै गएर व्यक्ति छनोट गरेका थिए । अति विपन्न परिवारको पहिचानकालागि वडाले एक महिनाको समय लगाएको थियो । छनौट भएका परिवारलाई आर्थिक अवस्थाका आधारमा अरु वर्ष पनि निरन्तरता दिने वडा अध्यक्ष राईले जानकारी दिनुभयो ।
पहिलो चरणमा चामल मात्र दिए पनि अरु वर्षबाट भनें दाल, चामल र अन्य आवश्यकीय सामग्री समेत वितरण गर्ने योजना वडाको रहेको छ । रासन कार्ड प्राप्त गर्ने परिवारले कार्ड वडाले निर्धारण गरेको पसलवाटमा वुझाएपछि तोकिएको खाध्यसामग्री प्राप्त गर्नेछन् ।