दमक, माघ २१
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले आजपनि दमकमा प्रदर्शन गरेका छन् ।
‘पाथीभरा क्षेत्रमा केवल कार निर्माण बन्द गर’, ‘गृहमन्त्री राजीनामा दे’ ‘व्यापारी चन्द्र ढकालले खरिद गरेको सरकार मुर्दावाद’ जस्ता नारा लगाएर प्रदर्शनकारीहरुले दमकको मुख्य चोकको सडकमै बसेर प्रर्दशन गरेका हुन ।
पाथीभरा मन्दिर ‘मुक्कुमलुङ’मा केवलकार निर्माणले सांस्कृतिक अतिक्रमण गर्ने भन्दै लिम्बू समुदायको मुन्धुमीस्थलको संरक्षणकालागि आन्दोलन गर्नु परेको उनीहरुले बताउँदै आएका छन् ।
गत माघ १२ मा बलुडाँडामा गोली चलेपछि विवाद राष्ट्रिय रुपमा चुलिएको छ । त्यसपछि सरकारका विरुद्धमा चरणवद्ध आन्दोलनहरु हुन थाल्यो। यहि क्रममा आइतबार र सोमबार कोशी प्रदेशको अरुण पूर्वका नौवटा l जिल्लामा सार्वजनिक यातायात बन्दको आह्वान गरिएको छ । सोही अनरुप सोमबार पनि दमकको मुख्य चोकमा प्रदर्शनकारीहरु बिच सडकमै पलेटी कसेर विरोध गरिरहेका थिए । चारैतिरबाट प्रहरीले घेरा हालेर उनीहरुलाई संरक्षण गरिरहेको जस्तो पनि दमकमा देखिन्थ्यो ।
यहि भीडमा भेटिनुभएका आन्दोलन पक्षको एउटा घटक किरात याक्थुङ चुम्लुङ र यसका झापा अध्यक्ष सेसेहाङ फियाकले कम्तिमा कुनै एउटा मन्त्रालयको मन्त्रीको संयोजकत्वमा मात्रै वार्ता गर्ने, अहिलेसम्म पक्राउ परेका आन्दोलनकारीलाई बिना सर्त रिहा नगरेसम्म वार्तामै नजाने बताउनु भयो । ‘सरकारले हामीलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गर्नुको सट्टा केवलकार बनाउने काम बन्द गरेर चाही वार्तामा बोलाउन सक्दैन ?’ फियाकले प्रश्न गर्दै भन्नु भयो ‘सरकारले हाम्रो पहिचान र सभ्यातामाथि वेवास्ता छ । ’
सरकारले भने यो विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।