पथरी, माघ २१
सोमबार बिहान पथरीशनिश्चरे वडा नम्वर २ का वडाअध्यक्ष नैना राई नगर प्रहरी र स्थानीय खेलप्रेमी सहित जेसीवी लिएर वडाको पूर्वी भेगमा पर्ने कालापानी पुग्नु भयो । उहाँ कुनै वाटो मर्मत गर्न जेसीवी लिएर पुग्नु भएको थिएन । स्थानीय खेलाडीले धेरै वर्ष प्रयोग गर्दै आएको खेल मैदान अतिक्रमण भएको र त्यसलाई साविककै अवस्थामा फर्काउन राई त्यहाँ पुग्नु भएको थियोे ।
वडाको कालापानी नयाँ सुनझोडा क्षेत्रमा २०४५ साल अघि भएको सार्वजनिक जग्गामा खेल मैदान थियो । स्थानीयवासीले खेलमैदान अतिक्रमण गर्दै खेती गर्न थालेपछि खेलमैदानको अस्तित्व संकटमा परेको थियो ।
प्रजातन्त्र पुनर्स्थापित पछि त खेलमैदान चरण क्षेत्र र खेतीवाली गर्ने खेतमा परिणत भएको थियो । सो खेलमैदान हराएको र त्यहाँ खेलमैदान वन्नु पर्ने दृढ अठोट बोकेका वडाअध्यक्ष राईले सोमबार विहान भने ‘ब्रेकथ्रु’ नै गर्नुभयो । ‘जग्गा ऐलानी भएकोले सो खाली गर्न केही बल त प्रयोग गर्न नै पर्यो ’बडाअध्यक्ष राईले भन्नुभयो ‘यो कार्यले यहाँका खेलाडीमा केही राहत भने भएको छ’ । यो मैदानको खोजी कार्य भने तत्कालै भएको हैन । वडा अध्यक्ष राईले यो कार्यकालागि करिब १वर्ष अध्ययन गरिएको र जग्गा सार्वजनिक भएको प्रमाणित भएपछि जेसीवी लिएर पुगेको जनाउनु भयो ।
अतिक्रमित भागलाई अस्थाइ बारबेर गरिएको छ भने सो भागको क्षेत्र जेसीवीले सम्याउने काम समेत सुरु गरिएको छ । स्थानीय खेलाडीले समेत अतिक्रमणमा परेको १० कट्ठा जग्गा वडाको स्वमित्वमा आउनु खुसीको अवस्था भएको वताउनु भयो । फुटबल खेलाडी सन्तोस न्यौपानेले कम्तिमा स्थानीय खेलाडीले सो ठाउमा मैदान प्रयोग गर्न पाउनु खुसीको कुरा भएको जनाउनु भयो ।
हिजो खेती गरेर कसैले व्याक्तिगत फाइदा लिएको सार्वजनिक जग्गामा केही महिनाभित्रमा क्रिकेट मैदान वनाउने योजना वडाअध्यक्ष राईको रहेको छ । क्रिकेट मैदानको अभाव झेलिरहेका पथरीशनिश्चरे नगरका क्रिकेट खेलाडीलाई मिनी साइजमै भएपनि क्रिकेट खेल मैदान बन्नु सुखद पक्ष हो । नगरमा फुटबलका विभिन्न मैदान भएपनि क्रिकेटकालागि मैदान अभाव रहदै आएको छ । पथरीशनिश्चरे नगरमा आयोजना हुने क्रिकेट प्रतियोगिता फुटबल मैदानमै आयोजना हुदै आएका छन् । पथरीशनिश्चरेमा चार संस्करणमा पथरीशनिश्चरे प्रिमियर लिग, दुई संस्करणमा सीएम कन्दङ्गवा कप र सात संस्करणमा विरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगिता सन्चालन भएका छ । यी सवै प्रतियोगिता मैदान अभावमै रोकिएका छ । कतिपय वडामा त क्रिकेट प्रशिक्षण गर्ने प्रशिक्षण स्थलको अभावमा खेलाडीले सास्ती भोगिरहेका छन् ।
तत्काल लम्वाई ७ सय मिटर र चौडाइ १२० मिटर रहने सो खेल मैदानकालागि पूर्वाधार विकास र अन्य प्राविधिक कार्य पछि थप व्यावस्थित बनाइन लागेको हो ।
शंकर बुढाथोकी संयोजक रहने गरि मैदान संरक्षण समिति समेत गठन गरिएको छ । पुरानो खेल मैदान फेरि खेल मैदानकै रुपमा फर्काउन वडाअध्यक्षले गरेको पहल सर्हानीय भएको स्थानियवासीले प्रतिक्रिया दिएका छन् ।