दमक, माघ २९
गाँजा तस्करहरुले ट्याम्पो, ट्रक, सिटी सफारी, एम्बुलेन्स तथा कारहरू मात्र प्रयोग गरेका छैनन निजी गाडीलाई सरकारी नम्बर हालेर पनि तस्करी भइरहेको प्रहरीको तथ्याङ्क छ।
मङ्सिर १८ गते साँझ धनकुटाबाट धरान तर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाएको दुई वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
लागुऔषध गाँजाको तस्करी भइरहेको जानकारीका आधारमा धरान उप–महानगरपालिका १३ अमरहाट त्रिवेणी चौकबाट ती गाडीबाट ६९० किलो गाँजा बरामद भएको तथ्याङ्कमा देखिन्छ।प्रहरीले मोरङमा मात्रै कात्तिकमा ११३ किलो, मङ्सिरमा ७५ किलो, पुसमा ३१५ किलो गरी ५०३ किलो गाँजा नियन्त्रणमा लिएको जनाएको छ।
पछिल्लो ३ वर्षमा गाँजा ओसारपोसारमा पक्राउ हुने दर बढेको छ। २०७८/०७९ मा २ हजार २१ किलो गाँजा बरामद गरेको प्रहरीले २०७९।०८० मा ५ हजार ८१५ किलो, २०८०।८१ मा १० हजार ४२० किलो गाँजा बरामद गर्दा चालु आर्थिक वर्षको साउनदेखि माघ २३ गतेसम्म ९ हजार ३८३ किलो गाँजा बरामद गरिसकेको तथ्यांक छ।
कात्तिक, मङ्सिर, पुस र माघ २३ गतेसम्म ३ हजार ३३९ किलो गाँजा बरामद कोसी प्रदेशका विभिन्न जिल्लाहरूबाट बरामद भएको कोसी प्रदेश प्रहरी कार्यालय कोसीका प्रवक्ता भीम दाहालले जानकारी दिनुभयो ।चालु आर्थिक वर्षको यो अवधिमा ५८९ जना लागुऔषध कारोबारीविरुद्ध मुद्दा चलाइएको प्रहरी तथ्यांक छ।

