काठमाडौ, फागुन १
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग गरिएको रिटमाथि सुनुवाइ सकिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले आजै फैसला आउने संभावना रहेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सो निर्णय बदरको माग गर्दै २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।
पूर्वप्रधानमन्त्री द्वय नेपाल र भट्टराई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दावीसहित उहाँहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरिएको छ। दुवैजनाले नीतिगत निर्णय मात्रै गरेको भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो।
तर, मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई प्रतिवादी बनाएको थिएन। नेपाल र डा. भट्टराईको बयान लिएर अनुसन्धानको दायरामा भने ल्याइएको थियो।सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा मुद्दा चलाउनसक्ने अधिकार नभएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।









