दमक, फागुन ६
अमेरिकाले विवादित मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गतको सहयोगसँग सम्बन्धित भुक्तानी तत्कालका लागि रोकेको छ ।
आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्नका निम्ति कार्यरत मिलेनियम च्यालेञ्ज कर्पोरेसन अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो । सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्डहरू पूरा गर्ने देशहरूलाई अनुदान उपलब्ध गराउँदै आएको छ । तर, एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरूलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा स्थगनको निर्णय गर्नुभएको हो ।
केहीअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोगको भुक्तानी पनि रोकेको हो ।
एमसीसीले सहयोगको भुक्तानी रोक्नेसम्बन्धी पत्र गत फागुन २ गते नै अर्थ मन्त्रालयमा पठाइएको उल्लेख छ । नेपाल सरकार र उक्त निकायबिच २०७४ भदौ २९ गतेको सम्झौता अनुसार नेपालमा नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म ४०० केभीए क्षमताको प्रसारण लाइन निर्माण थालिएको थियो । त्यस्तै विभिन्न पाँचवटा सडकको स्तरोन्नति समेत यो परियोजना अन्तर्गत भएको थियो । एकाएक सहयोग रोकिएसँगै यी आयोजनामा असर पुग्नेछ ।
सरकारले संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको विवरण अनुसार एमसीसी अन्तर्गतको कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको देखिन्छ । उसो त एमसीसीको सञ्चालक समितिले गत पुसमा नेपाल कम्प्याक्टका लागि ५० करोडमा थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको थियो । यसले कम्प्याक्टको कूल बजेटलाई सात सय ४७ मिलियन अमेरिकी डलरसम्म पुर्याउने नेपालस्थित अमेरिकी दूतावासको भनाइ थियो ।
सम्झौता भएकाको अवधिदेखि पाँच वर्षको अवधिमा मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालले ७४.७ करोड अमेरिकी डलर अर्थात् ९२ अर्ब रुपैयाँ बराबर खर्च गर्नुपर्ने थियो । जसमा अमेरिकी सरकारले कुल ५५ करोड अमेरिकी डलर अनुदान र १९.७ करोड डलर नेपाल सरकारले लगानी गर्नुृपर्ने प्रावधान थियो ।
एमसीसीमा विद्युत् प्रसारण लाइन निर्माणका लागि ५८.२४ अर्ब रुपैयाँ र सडक सुधारको लागि ५.४९ करोड डलर खर्च गर्ने गरी काम भइरहेको थि
यो ।
एमसीसीले हालसम्म ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन (केही क्वाड–सर्किट टावरहरूसहित) डिजाइन तथा निर्माण गरिरहेको थियो । यसअन्तर्गत एमसीए नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको थियो ।
यस्तै एमसीसीअन्तर्गत ५ करोड ४९ लाख अमेरिकी डलर लगानीमा सडक मर्मत आयोजना सञ्चालन भइरहेको थियो । एमसीए नेपालले सडक विभाग तथा सडक बोर्ड नेपालको निर्माण क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग पनि गरिरहेको थियो । १३० किमी रणनैतिक सडक सञ्जालको मर्मत सम्भार तथा सडक मर्मत बजेट विस्तारलाई प्रोत्साहन गर्न मिलान कोषको व्यवस्थामार्फत नेपालको रणनैतिक सडक सञ्जालको गुणस्तरमा सुधार गरिरहेको थियो ।
यस्तै एमसीसीमार्फत महेन्द्र राजमार्ग (पूर्व–पश्चिम) राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किमी सडक खण्ड मर्मत कार्य फूल डेप्थ रिक्लेमेशन प्रविधि प्रयोग गरी गर्नका लागि तयार गरिएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भइसकेको थियो ।