दमक, फागुन ११
झापाको दमकमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताअन्तर्गत आइतवार चार खेल भए । आइतवार भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको टिमले नेपाल आर्मीलाई तीन सून्यको सोझो सेटले हरायो ।
त्यस्तै अर्को खेलमा नेपाल प्रहरीले नेपाल आर्मीलाई तीन सून्यको सोझो सेटले पराजित गर्यो । यता कोशी प्रदेशले मधेस प्रदेशलाई पराजित गर्दा बाग्मतीले लुम्बिनी प्रदेशलाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।
नेपाल खेलकुद महासंघ कोशी प्रदेशले आयोजना गरेको प्रतियोगितामा ९ वटा राष्ट्रिय स्तरका महिला भलिवल टिम सहभागी छन् । फागुन १५ गतेसम्म चल्ने प्रतियोगिताको आइतवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको थियो । सो क्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा भलिबल खेलको विकासकालागी आवश्यक पर्ने संरचना निर्माण गर्ने काम अघी बढिसकेको र अहिले जग्गा प्राप्तीको प्रकृयामा रहेको जानकारी दिनु भयो ।
सो अवसरमा बोल्दै भलिबल सघंका केन्द्रीय महासचिव रोशन श्रेष्ठले कोशी प्रदेशमा कम्तिमा पनि १ हजार ५ सय देखि माथीको दर्शक क्षमता भएको भलिबल खेल्ने कोर्ट निर्माण गर्न अनुरोध गर्नु भएको थियो ।
कोशी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव पर्शुराम बस्नेतले खेलकुदका गतिविधि बढाएर खेलाडीको मनोवल बढाउने उद्धेश्य राखेर अहिले प्रदेशभरी बिभिन्न प्रकारका कार्यक्रमहरु चलिरहेको उल्लेख गर्नु भयो ।
भलिबल खेलका कारण महिलाहरुले देश विदेशमा समेत राम्रो नजिता निकाल्न सफल भइरहेकोले त्यसलाई अझ निखार्न र महिला खेलाडीको प्रोत्साहनकागि महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजक नेपाल खेलकुद महासघंका कोशी प्रदेश अध्यक्ष राजकुमार थापाले उल्लेख गर्नुभयो ।
८ टिम प्रतिस्पर्धी रहेको यो प्रतियोगिता १५ फागुनसम्म चल्ने छ । प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले ३ लाख, तृतीयले १ लाख ५० हजार र सान्तवनाले ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । ६ वटा विधामा उत्कृष्ट खेलाडीलाई १० हजार, प्लेयर अफ दी टुर्नामेन्टलाई २५ हजार, र प्लेयर अफ दी म्याचलाई ५ हजार पुरस्कार प्रदान आयोजकले जनाएको छ ।
प्रतियोगिताकालागि कोशी प्रदेश सरकारले २० लाख रकम प्रदान गरेको छ । अन्य रकम प्रायोजकसहितबाट जुटाएर खर्च व्यवस्थापन भइरहेको बताइएको छ । महासंघ कोशी प्रदेश कमिटीले २०८० फागुन २१ गते “केपी ओली रोड रेस २०८०” अन्तर्गत १० किलोमिटर खुला (महिला/पुरुष) दौड प्रतियोगिता सम्पन्न गरेको थियो ।









