दमक, फागुन १६
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी गत आर्थिक वर्ष सरकारले १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गरेकोमा ५ करोड १६ लाख रुपैयाँको मात्र बिक्री भयो । उक्त बचतपत्रमा सरकारले ९ प्रतिशत ब्याज प्रदान गरेको थियो, जुन सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर भन्दा बढी हो ।
सरकारले जारी गरेको उक्त बचतपत्रमध्ये औसतमा ९५ प्रतिशतभन्दा बढी बिक्री नहुने गरेको विभिन्न सरकारी अध्ययन प्रतिवेदनले देखाएका छन् । जसअनुसार पछिल्लो १५ वर्षमा जारी भएको यस्तो बचतपत्रको औसत बिक्री ५.०९ प्रतिशत मात्र छ ।आर्थिक वर्ष ०६६/६७ देखि चालु आवसम्म सरकारले १७ अर्ब ६ करोड ५५ लाख रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसकेको छ ।
तीमध्ये ८६ करोड ८१ लाख रुपैयाँ अथवा ५.०९ प्रतिशत मात्र बिक्री भएको छ भने बाँकी ९४.९१ प्रतिशत बिक्री भएको छैन । हरेक वर्ष बचतपत्रमा प्रदान गरिने ब्याजदर सोही अवधिमा बैंकहरूले निक्षेपमा दिनेभन्दा बढी छ ।यस वर्ष पनि सरकारले ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ ।
चालु आव आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि बचतपत्र बिक्रीका लागि सूचना जारी गरेको हो । सो बचतपत्रमा ८.५० प्रतिशत ब्याजदर पाइन्छ । यो ब्याजदर हाल बैंकहरूले निक्षेपमा प्रदान गर्नेभन्दा झन्डै दोब्बर हो । गत पुससम्म बैंकहरूले निक्षेपमा प्रदान गर्ने औसत ब्याजदर ४.७५ प्रतिशत छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि चैत १८ सम्मका लागि बचतपत्र खरिदको म्याद तोकेको छ ।









