दमक, फागुन २१
स्वतन्त्रता र समानताको आवाज उठाउँदा झापाको सुखानीमा पाँचजना अगुवाको निर्मम तरिकाले हत्या भएको आज ठीक ५० वर्ष पुगेको छ ।
झापा विद्रोहका क्रममा सुखानीमा सहादत प्राप्त गर्नेहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठको सम्मान र सम्झनामा सुखानी पार्क निर्माण गरिएको छ । २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका ती अगुवाहरूलाई झापाबाट इलाम जेल सार्ने निहुँमा हिडाउँदै लगेर प्रहरीले गोली हानी हत्या गरेको थियो । उहाँहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम हुँदै आएपनि उहाँका परिवारकालागि दिगो व्यवस्थापनको काम नभएको भन्दै टिप्पणी हुँदै आएको छ । अनि सर्वहारा वर्गको उत्थानमा लागेका उहाँहरुको सपना कति पुरा भए त भन्ने कोणबाट समेत असन्तुष्ठि व्यक्त हुँदै आएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताउनु भएको छ । राजतन्त्रको ठाडो आदेशमा पञ्चायती शासकले जेल राख्ने समेत आँट नगरी मार्नु अत्यन्तै ठूलो अमानवीय कार्य भएको खनालको ठहर छ ।
इलाम जिल्लाको साबिक दानाबारी गाउँ विकास समिति वडा नम्बर ३ मा रहेको सो क्षेत्र हाल माइ नगरपालिका वडा नम्बर ४ मा पर्दछ ।










