दमक, फागुन २१
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि आधिकारिक रुपमा नरहेकाहरुलाई निष्कासित गर्ने क्रममा निष्कासनमा परेका ८ जना नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ ।
अध्यागमन कानुन उल्लङ्घन गर्ने नेपालीहरूलाई लिएर बुधबार बिहान आएको अमेरिकी चार्टर जहाजमा ७ पुरुष र १ महिला आएको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जनाउनु भयो ।
अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम विमान बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि सो विमान सोझै नेपाल आयो ।
निष्कासित ती नेपालीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो । त्यसरी निष्काशित हुनेमध्ये केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो ।
ट्रम्प प्रशासनबाट हालसम्म २७ जना नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।









