दमक, फागुन २९/भन्सार विभागको तथ्यांक अनुसार गएको सात महिना अवधिमा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको छ ।
स्थानीय उत्पादनले नपुगेपछि वर्षमा डेढ अर्ब हाराहारीको लसुन आयात गर्दा माग धानिरहेको अवस्थामा अहिले अस्वाभाविक आयात बढेको हो ।
तर यसरी आयात बढेपनि नेपाली बजारमा त्यही परिणामका लसुनभने छैनन ।
बजारमा लसुन नदेखिनुलाई ‘तस्करीको चलखेल’ देखिने सरकारी अधिकारीहरूको अनुमान छ ।
उत्तरी छिमेकी चीनबाट ठूलो परिमाणमा लसुन आयात गरेर नेपाल ल्याउने र यहाँबाट तस्करी गर्दै दक्षिणी छिमेकी भारत पुर्याउने गरिएको सरकारी अधिकारीहरूको अनुमान छ ।
भारतले चीनबाट हुने लसुन आयातमा प्रतिबन्ध लगाएको छ, जसले गर्दा त्यहाँ लसुनको माग ह्वात्तै बढेका कारण भाउ पनि उकालो लागिरहेको छ ।
हाल भारतीय बजारमा चिनियाँ लसुनको भाउ किलोको ३ सय ५० देखि ४ सय भारु (५ सय ६० देखि ६ सय ४० नेपाली रुपैयाँ) सम्म रहेको छ । चीनमा लसुनको थोक मूल्य किलोको नेपाली १ सय ५० रुपैयाँसम्म पर्ने व्यापारीहरू बताउँछन् ।
यही मेसोमा मौका छोपेर नेपाली व्यवसायीले चीनबाट ठूलो परिमाणमा लसुन आयात गरेर नेपाल ल्याउन भ्याए ।
त्यसरी ल्याइएको ठूलो परिमाणको लसुन यहाँबाट भारत तस्करी गर्न लागिएका बेला भारतीय सीमानाकामा गत साउन र भदौमा राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीले बरामद गरेका थिए । यसबाट भारततर्फ लसुन तस्करी भइरहेको पुष्टि भएको थियो ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वार्षिक १ अर्ब रुपैयाँभन्दा कमको लसुन खपत हुने गरेको छ ।
नेपालमा आव २०७९/८० मा ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । त्यसबाट ७३ हजार ५ सय ६७ टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।









