दमक, फागुन २९
भारतको दार्जीलिङका उत्प्रेरक वक्ता प्रिमउस भुटियाले आफ्नो जीवनमा लागुऔषधले पारेको असरका बारेमा बताउँदै लागुऔषधबाट बेलैमा बालबालिकालाई टाढा राख्नुपर्ने सन्देश प्रवाह गर्नुभएको छ ।
दमक नगरपालिका कार्यालयसँगको सहकार्यमा युथ लिडर्स नेपालले आयोजना गरेको लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले आफू पनि लागुऔषधको कुलतबाट निस्किएर लागुऔषधको कुलतमा रहेकाहरुलाई सचेत बनाउने अभियन्ताका रुपमा अघि बढेको अनुभव सुनाउनु भयो ।
उहाँले हिप्पी संस्कृतिको हस्तक्षेपले गर्दा आफू लागुऔषधको सिकार भएको अवस्था बताउँदै कसैको नराम्रो सिकोले जीवन वर्बाद हुने उहाँले उल्लेख गर्नुभयो । लागुऔषधले इज्जत, स्वास्थ्य, सम्पती र खुसी सबै खोस्ने बताउँदै यसबाट युवा पुस्ता टाढा रहँदामात्र सार्थक जीवन बन्ने उहाँको धारणा छ ।
दम
क नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले खुला सीमाका कारणले लागुऔषध कारोबारमा दमकको तथ्यांक बढ्दो रफ्तारमा रहेको दुःखको अवस्था दर्शाउनु भयो । दमकमा ४ वटा पुनस्थार्पना केन्द्र सञ्चालन भएकोमा त्यहाँ मानिसहरु खचाखच भएको र महिला केन्द्रमा समेत ३५ जना महिला रहेको उल्लेख गर्नुभयो । बालबालिकाले चाख्ने भन्ने हिसावले साथीभाईको लहैलहैमा लागेर ७० प्रतिशतको संख्या लागुऔषधको कुलतमा परेको जनाउँदै यसबाट मुक्त बनाएर सून्य सहनशीलतामा पुर्याउन नगरले कार्यक्रम अघि बढाइरहेको जानकारी गराउनु भयो ।
देशको भविष्य निर्माण गर्ने बालबालिकाले सानैदेखि सचेत बनेर लागूऔषधको विरामी परेकाहरुलाई बेलैमा उपचार गराएर समाजमा पुनर्स्थापित गराउनु आजको आवश्यकता भएको उहाँले सुनाउनु भयो ।
विद्यार्थीकालागि केन्द्रित सो कार्यक्रममा दमकका ३ वटा विद्यालयका माद्यमिक तहका विद्यार्थीलाई सहभागि गराएको थियो ।









