दमक, चैत्र २ / माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमारा तथा मूर्तिचोरको आरोप लगाएको भोलिपल्ट शनिबार हेटौंडामा उनको तस्बिर जलाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्बिर जलाइएको हो ।
जिल्ला अधिवेशनमा मन्तव्य दिने क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम पलाँताले प्रचण्डको तस्बीर जलाएका हुन् । बोल्दाबोल्दै उनले प्रचण्डको तस्बिर जलाएका थिए ।
राप्रपाले भने प्रचण्डको मेलम्ची अभिव्यक्तिको ‘साइड इफेक्ट’को रुपमा उनको तस्बिर जलाउनुपर्ने कारण बनेको व्याख्या गरेको छ । शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा भएको सभालाई सम्बोधन गर्दै राजतन्त्रप्रति कडा टिप्पणी तथा पूर्वराजालाई भाइमारा र मूर्तिचोर को हो भनेर सोध्नुभएको थियो ।
प्रचण्डको तस्बिर जलाएपछि युवा नेता पलाँताले सामजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भन्नुभएको छ, ‘प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनुभएको छैन होला नि भनेर सन्देश दिएको छु । मूर्ति चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनुभयो ।’
गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले पोखराबाट एउटा भिडियो सन्देश जारी गर्दै आफू सक्रिय हुन लागेको सन्देश दिएपछि उत्साहित राजावादीहरुले फागुन २५ गते उनी काठमाडौं फर्कंदा भव्य स्वागत गरेका थिए ।
उक्त घटनापछि नेपालमा अहिले राजावादी र गणतन्त्रवादीबीच आरोपप्रत्यारोप चलिरहेको सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रमको मञ्चमै प्रचण्डको तस्बिर जलाइएको छ ।
राप्रपाका युवा नेता कार्यकर्ताले कार्यक्रमकै बीच पार्टी अध्यक्ष प्रचण्डको तस्बिर जलाएको घटना निन्दनीय रहेको भन्दै गणतन्त्रमा यस्ताखाले क्रियाकलापको सशक्त प्रतिकार हुने वाईसीएल मकवानपुरले प्रतिक्रिया दिएको छ ।
पछिल्लो समय केही सङ्ख्याका राजवादीहरुले मरिसकेको राजालाई मसानघाटबाट फिर्ता ल्याउँछु भन्ने दिवा सपना देखिरहेको बताउँदै वाईसीएल मकवानपुरका अध्यक्ष लवराज ठकुरीले त्यस्ता सपनाहरु सपनामा मात्र सीमित हुने बताउनुभयो ।