दमक/
झापाको दमक नगरपालिकाले विद्यार्थीलाई पनि खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । १२ वर्ष उमेर देखी १८ वर्ष उमेर समुहका बालबालिकाकालागि खोप अभियान सञ्चालन गर्न लागेको हो । आगामी माघ १६ गते देखी २० गते सम्म दमकका विद्यालयमै विद्यार्थीलाई बोलाएर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । जसका लागि नगरपालिकाले एकै दिन ५ वटा सम्म खोप केन्द्र तोकेर खोप कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।
यसै क्रममा शुक्रबार दमकका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधीलाई विद्यार्थीकालागि आएको खोपका बारेमा जानकारी पनि गराइएको छ । विद्यार्थीहरुलाई खोप लगाउन आउँदा विद्यालयले कसरी समन्यव गर्ने र विद्यार्थीलाई कसरी सुरक्षीत राख्ने भन्नेबारेमा प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधीलाई जानकारी गराइएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिनुभयो ।
दमक नगरपालिकाले २०६६ साल माघ महिनामा सम्ममा जन्मेकाहरुले मात्र खोप लगाउन पाउने भनेकोले त्यस अनुसार विद्यार्थीको जन्ममिती प्रमाणीत गर्न विद्यालयका शिक्षकहरुले सहजीकरण गर्न सक्ने उहाँले बताउनु भयो । विद्यालय बाहिरका बालबालिका भएमा अभिभावकको रोहबरमा मात्रै खोप लगाइने बताउँदै भट्टराईले बालबालिकाको उमेर प्रमाणीत हुने जन्मदर्ता वा उमेर खुल्ने परिचयपत्र अनिवार्य लिएर आउन पनि अनुरोध गर्नु भएको छ । विद्यार्थीलाई मोर्डना कम्पनीको पहिलो मात्राको खोप लगाउन लागिएको हो ।
यो खोप लगाइसकेपछि दमकका विद्यालय सुरक्षीत हुने भन्दै चाँडै विद्याल सञ्चालन पनि गर्न सकिने नगरको शिक्षा शाखाले जनाएको छ । अहिले विद्यालयका विद्यार्थी र शिक्षकलाई सुरक्षीत गर्ने काममा केन्द्रित भएको बताउँदै शाखा प्रमुख दिनेश न्यौपानेले सबैलाई सुरक्षीत बनाइसकेपनि सहज रुपमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाइने बताउनु भयो ।