दमक, चैत्र ८/ पछिल्लो समय प्रविधिमा आइरहेको विकासले हरेक क्षेत्रमा काम गर्न निकै सहज र छिटो भइरहेको छ। अझै स्वास्थ्य क्षेत्रमा प्रविधिको विकासका कारण उपचार तथा रोगको पहिचानमा धेरै नै फाइदा भइरहेको चिकित्सकहरु बताउँछन्।
प्रविधिको विकासले विगतमा घन्टौं लाग्ने उपचार र स्वास्थ्य जाँचका लागि केही सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भइरहेको छ। शरीर भित्रका अंगहरुको रोग पहिचानका लागि तथा रोगकै उपचारका लागि ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको समेत अहिले लगभग अन्त्य जस्तै भइसकेको छ।
कतिपय अवस्थामा औषधि तथा तथा प्रविधिको सहयाताले घाउ नै नबनाई तथा शल्यक्रिया नै नगरी रोगको पहिचान तथा उपचार भइरहेको छ भने विगतमा ठूलो घाउ बनाउनु पर्ने स्थानमा अहिले सानो प्वाल मात्र बनाएर पनि उपचार हुन थालेको छ।
प्रविधिमा आइरहेको विकासका कारण उपचार छिटो र सहज मात्र नभएर थप गुणस्तरीय समेत भइरहेको चिकित्सकहरु बताउँछन्। विकसित देशमा आएका नयाँनयाँ प्रविधिहरु नेपालमा छोटो समयमा नै आइपुग्ने र उपचारको क्षेत्रमा ठूलो सहयोग गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की बताउनु हुन्छ ।
नेपाल स्वास्थ्य प्रविधिको प्रयोगका हिसाबले अगाडि नै रहेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्। अत्याधुनिक मानिएको रोबोटिक सर्जरीदेखि विश्व बजारमा भित्रिएका नयाँ प्रविधिको प्रयोगसम्म नेपाल अगाडि नै रहेको जानकारहरुको भनाई छ ।
नेपालमा विश्वमा उपलब्ध सबै प्रकारका उपचार प्रविधि र जनशक्ति उपलब्ध हुँदाहुँदै पनि नयाँ प्रविधि महँगो हुँदा निरन्तरतामा भने चुनौती थपिएको स्वास्थ्य क्षेत्रका जानकारहरुको चासो र चिन्ता छ।