दमक, चैत्र ८
काठमाडौंलाई पूर्वीनेपालसँग जोड्ने वीपी राजमार्ग पुनर्निर्माण गर्न सडक विभागले काम सुरु गरेको छ।
गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण सबैभन्दा बढी क्षति वीपी राजमार्गमा भएको थियो ।
गत असोजको वर्षाले वीपी राजमार्गको २८ किलोमिटर सडक पूर्णरूपमा भत्काएको थियो। वीपी राजमार्ग बनाउने जिम्मा लिएको सडक डिभिजन भक्तपुरका आयोजना प्रमुख सुमन यागेशका अनुसार अब निर्माण हुने राजमार्ग दुई लेन अर्थात् नौ मिटर चौडाइको हुने छ।
‘दुई वर्षभित्र काम सक्ने गरी निर्माण अघि बढाएका छौं। काम सकियो भने पहिलेको जस्तो वर्षा आए पनि वीपी राजमार्गमा क्षति हुने छैन। पहिलेभन्दा बलियो गरी पुनर्निर्माण गर्दै छौं’, सुमनले बताउनु भयो ।
जाइकाको टोली गत कात्तिक ११ र १२ गते क्षतिग्रस्त वीपी राजमार्गको स्थलगत अध्ययन तथा अनुसन्धान गरेर फर्किएको थियो।
सडक डिभिजन भक्तपुरका अनुसार काभ्रेको डालाबेसीदेखि चार सय बेँसीसम्म ८.५ किमि सडक पुनर्निर्माण गर्न ठेक्का आह्वान भइसकेको छ। यसको अनुमानित लागत साढे दुई अर्ब रूपैयाँ राखिएको छ। खोलाको किनाराबाटै पर्खाल उठाएर यसको पुनर्निर्माण गरिने भएको छ।
डिभिजनका अनुसार काभ्रेको चार सय बेंसीदेखि भकुन्डेबेसीसम्म ११ किमि सडकमा आजभोलि नै ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ। एक सय ६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। यो राजमार्ग निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो।
२०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरिएको थियो। २०७२ सालको भूकम्पबाट वीपी राजमार्गको केही भागमा क्षति पुगेको थियो। क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो।