दमक, चैत १२
नेपाल विद्युत् प्राधिकरणका तात्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएकोमा सत्ता पक्षकै नेपाली कांग्रेसले विरोध जनाएको छ । कुलमानले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने बताउनु भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो । सत्ता साझेदार कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले सरकारको निर्णयको आलोचना गरेका छन् । कांग्रेका नेता शेखर कोइरालाले यसकार्यलाई विनाशकाले विपरीत बुद्धिको संज्ञा दिनु भएको छ ।
सञ्चारमाध्यममा समाचार आएपछि यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने कुलमानले बताइसक्नु भएको छ । घिसिङले सरकारले राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने उहाँको धारणा छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई हटाएकोप्रति आक्रोस व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले घिसिङलाई घटाएको सांकेतिक विरोध कार्य स्वरुप सोमबार बिजुली बत्ति निभाएर मैनबत्ती बाल्नु भएको थियो । नेपालमा लोडसेडिङको अन्त्य गरी प्राधिकरणलाई राम्रो आम्दानी गराएको उज्यालोका अभियन्ताका रुपमा कुलमानलाई हेर्दै उहाँलाई हटाएकोप्रति सामाजिक सञ्जालमा व्यापक विरोधका अभिव्यक्ति आइरहेका छन् ।
आठ महिनामा छ वटा स्पष्टिकरणपछि हटाइयो
वर्तमान सरकारसँग कुलमानको टकरावका कारण सरकारले आठ महिनामा छ वटा स्पष्टिकरण सोधेको थियो । जवाफ चित्तबुझ्दो नभएको भन्दै उहाँलाई हटाइएको छ । उनै शाक्यलाई हटाएर २०७८ साउन २७ गते घिसिङलाई पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वमा बनेको प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले घिसिङलाई नियुक्ति दिएको थियो ।
तर, नयाँ सरकार बनेसँगै शाक्यलाई हटाएर घिसिङलाई नै दोहोर्याएर प्राधिकरणको जिम्मेवारी दिइएको थियो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु भएका घिसिङ २०७८ साउन २७ गते सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त बन्नु भयो । दोस्रो कार्यकालमा अब करिब पाँच महिना मात्रै बाँकी थियो ।
उता, चार वर्षका लागि नियुक्ति भएका शाक्य भने करिब एक वर्षमा नै प्राधिकरण छाड्नु परेको थियो । अहिले ठिक साढे ३ वर्षपछि उनै शाक्यलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।
कांग्रेस नेतृत्वको सरकारबाट नियुक्त भएका कुलमान कांग्रेस सरकारमा भएर कांग्रेसकै ऊर्जा मन्त्रीका कारण हट्नु परेको अवस्था थियो ।









