काठमाडौँ, चैत १५ / राजावादीहरुले संविधान विपरीतका गतिविधि गरेर गणतन्त्र विरुद्ध अफवाह फैलाएको भन्दै गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजतन्त्र नै आवश्यक रहेको जिकिरमा राजावादीले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । स्थितीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा गरिने सुरक्षा निकायले उल्लेख गरेको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् । भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी छ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न लागेको छ । सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईँसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आकलन गरिएको छ ।
दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३ हजार ५ सय प्रहरी खटाएको छ । सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमाण्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्ने जनाइएको छ ।
सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिने योजना छ । प्रदर्शनमा अवैध गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरीलाई परिचालन गर्ने उपत्यका प्रहरी कार्यालयको योजना छ ।
चक्रपथ बाहिर, चक्रपथभित्रको सुरक्षा योजना
मुठभेड हुन नदिन समाजवादी मोर्चा समर्थकलाई कोटेश्वरबाट बालकुमारी पुल हुँदै भित्रको बाटोबाट प्रदर्शनीमार्गतर्फ पठाउँने अर्थात उनीहरुलाई चक्रपथभित्रको प्रदर्शन गर्न दिने सुरक्षा रणनीतिक योजना बनाइएको छ ।
पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ ।
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ ।
शान्तिपूर्वक प्रदर्शनका लागि मानव अधिकार आयोगको अपिल
यता, राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले विज्ञप्तिमार्फत चासो राखेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा समाजवादी मोर्चा र राजावादी समूहलाई शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरिएको छ ।









