दमक, चैत १५ \
अमेरिकाले भुटानबाट त्यहाँ पुनर्वास भएका ४ जनालाई भुटान सरकारलाई डिपोट गरे लगत्तै शुक्रबार नै उनीहरुलाई भूटानले नेपालको भुटानी शरणार्थी शिविरतर्फ पठाउँदै गरेको तथ्य खुलेको छ ।
अमेरिकाको पेन्सिलभेनिया राज्यमा पक्राउ परेका भुटानी शरणार्थीमध्ये ४ जनालाई ‘कमर्सियल विमान’मार्फत शुक्रबार बिहान भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल ‘डिपोर्ट’ गरिएको थियो । त्यसपछि भुटानले जिम्मा लिएको जस्तो गरेर उनीहरुलाई त्यहाँको प्रहरीमार्फत जयगाउँसम्म ल्याएर छोडेको र त्यहाँबाट भारतीय प्रहरीले शुक्रबार साँझ नेपालको सीमाना काँकडभिट्टा नजिक पानीट्यांकीसम्म ल्याइपुर्याएको डिपोटमा परेकाको पारिवारिक स्रोतले बताएको छ । अमेरिका पुनर्वास भएर शिविरमा फर्काइएकाहरुको कानुनी तथा जिविकोपार्जनको जटिलता थपिने भएको छ ।
दक्षिणी भुटानका नेपालीभाषी नागरिक देश निकाला गर्न थालेको र शरणार्थी समस्या सुरू भएको तीन दशकपछि पहिलो पटक भुटानले अमेरिकासँग ‘आफ्नो नागरिक’ स्वीकार्दै डिपोटको लागि अनुमति दिएको थियो । अमेरिकाले बिहीबार साँझ दिल्ली ट्रान्जिट हुँदै ४ जनालाई भुटान ल्याएर जिम्मा लगाएको थियो । ‘डिपोर्ट’मा परेका थप २ जना भुटानी शरणार्थी आइतबारसम्म पारो विमानस्थल उत्रिने जनाइएको छ ।
अमेरिकी अध्यागमनको केन्द्रीय निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)’ले विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पुरानो रेकर्ड तथा अदालती फैसलाका आधारमा पछिल्लो दुई महिनामा ४० भन्दा बढी भुटानी शरणार्थी पक्राउ गरेको छ । अमेरिकी नागरिक पनि नबनेका र साथमा ग्रिनकार्ड पनि नरहेका यस्ता व्यक्ति पक्राउ हुने क्रम अहिले पनि जारी रहेको उल्लेख छ । अमेरिकी सरकारले पछिल्लो नीति अनुसार गैर कानुनी रुपमा बस्ने तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा जुनसुकै देशका नागरिकलाई सम्बन्धित देशमा लगेर जिम्मा लगाउँदै आएको छ ।
बीएनडीपीको आपत्ती र गैरआवासीय दर्जाको माग
भुटान पुनर्स्थापित समुदायलाई गैर–आवासीय भुटानी (एनआरबी ) दर्जा प्रदान गर्नुपर्ने भुटान राष्ट्रिय प्रजातान्त्रिक पार्टी (बीएनडीपी) ले माग अघि सारेको छ ।
बीएनडीपीका कार्यवाहक अध्यक्ष डा. डीएनएस ढकालले अमेरिकामा पुनर्वासमा रहेका ६ जना भूटानीलाई भूटान फिर्ता पठाएको सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै त्यस्तो माग अघि सार्नुभएको हो ।
उहाँले भन्नु भएको छ ‘पुनर्स्थापित समुदायलाई गैर–आवासीय भुटानी (एनआरबी ) को दर्जा प्रदान होस् गर्दै ताकि तिनीहरू राम्रो र नराम्रो दुवै समयको लागि सम्पत्तिको रूपमा रहून् र मातृभूमिसँगको आफ्नो सम्पर्क कायम राख्न मद्दत गरून् ।’ मानवीय आधारमा शरणार्थीहरूलाई संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित गरिएको अवस्थामा त्यहाँबाट यो बेला भुटानको मूल भूमिमा छ जना भुटानी शरणार्थीहरूलाई फिर्ता पठाइएको थाहा पाउँदा पार्टी छक्क परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो एपिसोडले भुटान सरकार र पुनर्स्थापित समुदायलाई आँखा खोल्ने कुरा बताउँछ कि तेस्रो देश पुनर्वासले शरणार्थी समस्या समाधान हुँदैन । पार्टी फर्केकाहरूको कल्याणको बारेमा चिन्तित रहेको उल्लेख गरिएको छ । बीएनडीपीले भूटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकलाई अपिल गर्दै एक राष्ट्रको रूपमा भुटानी शरणार्थी समस्यालाई एक पटकको लागि समाधान गर्न आवश्यक छ भन्दै नेपालका शिविरमा रहेका ७ हजार शरणार्थीलाई स्वदेशफिर्ती गर्नुपर्ने उल्लेख गरेको छ । यसकासाथै भुटानमा निर्वासित राजनीतिक दलहरूलाई राष्ट्रिय राजनीतिक प्रक्रियामा प्रवेश गर्न अनुकूल वातावरण सिर्जना गर्न पनि विज्ञप्तिमा मागका रुपमा अघि सारिएको छ ।
पूर्वी नेपालका झापा र मोरङमा रहेका सात वटा शिविरबाट सन् २०१७ सम्म अमेरिकासहितका ८ देशमा १ लाख १३ हजारको संख्यामा पुर्नवास गराइएको थियो ।









