सुनसरी, ४ बैशाख/ मध्यबर्खा लाग्न २ महिना बाँकी छ । सप्तकोसी नदीमा सञ्चालित बोटले पनि अबको २ महिना व्यापार गर्छन् । व्यवस्थित जलमार्ग नहुँदा यात्रुले अनेक कठिनाइ भोग्नु परेको छ । नियामक निकायले जलमार्ग निर्माण गर्न ध्यान दिएकै छैन ।
‘जलमार्ग बनेन’ व्यवसायी गुनासो गर्छन् । तर पानी जहाज कार्यालय खोलिएको ६ वर्षयता त्यसका नाममा ११ करोड ६६ हजार ५ सय ९ रुपैयाँ खर्च भएको छ ।विगत ६ वर्षमा विनियोजित १५ करोड २७ लाख ८० हजार रुपैयाँमध्ये ११ करोड बढी कोसी नदीमा आधारित जल पर्यटन र पानी जहाज कार्यालय स्थापना भएपछि पुँजीगत खर्च भएको छ ।
पानी जहाज सञ्चालन र विकासमा राज्यले करोडौं लगानी गरेको तथ्याङ्क देखिएको छ । तर कहिले, कतिबेला, कसरी लगानी भयो ? सरोकारवाला र व्यवसायी नै बेखबर छन् । लगानीअनुसार अहिले नेपाली नदीमा जेटबोटबाहेक अरू चलेको देखिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो न समुद्रमा न त नेपाली नदीमै पानी जहाज चल्ने सुरसार छ ।









