दमक, ७ बैशाख / गर्मीको बेला शरीरलाई कसरी शितल राख्ने र मनैदेखि कसरी चंगा बन्ने भन्ने चिन्ता सबैलाई बढ्छ । शरीरको बाहिरी भाग नुहाएर शितल बनाउने र भित्री आँत दही मोही खाएर चंगा बनाउने तर्फ मानिसको ध्यान बढ्न थालेको छ ।
फ्रिजमा राखेर निकै चिसो बनाएको जङ्क फुडवाला कोल्डड्रिङक पिउनु स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । तर सजिलो र फेसनका रुपमा यसखाले चिसो पेयपदार्थ खानु भन्दा मोही खान आफूलाई ठीक लाग्ने गरेको दमक ८ का रामबहादुर गुरुङ बताउनु हुन्छ ।
दमक ८ स्थित साझा डेरीमा मोही लिन आउने क्रममा भेटिनु भएका उहाँ भन्नुहुन्छ ‘कोल्डड्रिङस्ले उमेर ढल्किएकाहरुलाई सुगर बढाउने समेत गरेकाले दही मोहीले फाइदा गर्ने बुझेर त्यसको प्रयोगमा आफू लागेको छु ।’
वातावरण प्रदुषण बढेको बढेकै छ । अर्कातर्फ रसायनिकयुक्त खानपानले पनि हस्तक्षेप गरिरहेको परिवेशमा मानिस कसरी स्वस्थ हुन सकिन्छ भनेर सोच्ने तहमा पुग्दैछन् । ‘विभिन्न रोग बढ्न थालेपछि जङ्क फुड छोडेर अचेल दही मोही खानेको संख्या बढ्दै गएको छ । युवाहरुले त यसमा अझ ध्यान दिनुपर्छ ।’ डेरी समेत सञ्चालित सीटी सप्लायर्सका युवा दीपेश भट्टराईको धारणा छ ।
विगत ४० वर्षदेखि दूध डेरी सञ्चालन गर्दै आउनु भएका साझा डेरीका सञ्चालक युगानन्द खतिवडा गर्मी बढ्न थालेपछि दूधदहीको माग बढ्दै गएको जनाउनु हुन्छ । आफ्नोमा हाल दैनिक २ हजार ४ सय लिटर दूध संकलन हुने र त्यसमध्ये १ हजार लिटर त मोही नै बिक्री हुने बताउनु हुन्छ । अहिले नै उहाँको डेरीमा दही र मोही लिनेको भिडभाड बढिरहेको छ । गर्मीको मध्य सिजनमा उहाँकोबाट २ हजार लिटरसम्म मोहीको बिक्री वितरण हुने गरेको अवस्था छ ।
दूध, दही, ध्यु, मोहीको सेवन गर्नु मानव स्वास्थ्यका लागि राम्रो मात्र नभई कृषि प्रधान मुलुक नेपालमा कृषिको प्रवद्र्धनको अर्को महत्वपूर्ण जिम्मेवारी समेत हो । ‘यस हिसाबले सरकारले कोल्डड्रिङस्को प्रचार प्रसार नगरी सञ्चारमाध्यमबाट दूध, दही, मोही खाने कुरामा देशवासीलाई प्रोत्साहन र प्रचार गर्नु आवश्यक छ ।’ खतिवडाको सुझाव छ ।
कोक, फेन्टा, स्प्राइट लगायतका कोल्डड्रिङस्ले मानिसहरुमा धेरै असर पुर्याइरहेको परिवेशमा पाचन प्रक्रियासहितका चौतर्फी फाइदाका लागि दही, मोही खानु आवश्यक रहको कञ्चनजंघा होमियो क्लिनिक दमककी डाक्टर शकुन्तला गुरागाईं चापागाईंको ठहर छ । उहाँको सुझाव छ ‘बच्चाहरुलाई त कोल्डड्रिङस्बाट झनै टाढा राखेर स्वास्थ्यवद्र्धन खाना खानु आवश्यक छ ।’
सजिलो र तत्कालको स्वादका आधारमा स्वास्थ्यलाई प्रत्यक्ष हानि पुर्याउने कोल्डड्रिङक खानुको सट्टा दूधजन्य पदार्थको सेवनमा सबैको ध्यान जानु आवश्यक छ । पर्यावरणको प्रदुषण र खानपानको बेवास्ताका कारण मिर्गौला, उच्चरक्तचाप, क्यान्सरको समस्या प्रत्यक्ष भोगिरहेको अवस्थामा अर्गानिक अनि आफैं उत्पादित उत्पादनको उपभोगमा अब पनि ढिला नगर्ने हो कि ?










