दमक, १६ बैशाख– दमक नगरपालिकाका प्रमुख राम कुमार थापा सोमबार बिहान दमक स्थित बसपार्कमा भेटिनु भयो । उहाँ यस क्षेत्रमा बस पार्कमा देखिएका समस्याको पहिचान र समाधान गर्न भन्दा पनि यहाँ अर्को एउटा पार्क सिलान्यास गर्न आउनु भएको थियो ।
बसपार्कका पूर्व तर्फ जहाँ काँकरभिट्टा जाने बस लाग्छन् त्यसैको छेउमा थोरै खाली जमिन रहेको थियो । त्यहि जमिनमा नगर प्रमुखले बुद्धको मुर्ती बनाएर विस्वकर्मा बाबाको सानो मन्दिर बनाउन भन्दै सिलान्यास गर्न आउनु भएको थियो ।
यसरी बसपार्क भित्र अर्को पार्क बनाउन आउनु भएका नगर प्रमुखलाई उज्यालो खवरले प्रश्न गर्यो, यस क्षेत्रमा बहुतले बसपार्क सहित स्मार्ट सिटिको परियोजना बन्ने भन्ने छ । जसकालागी योजना आयोगले काम गरिरहेको छ । तर तपाईले यहि अर्को पार्क बनाउँदा राज्यको लगानी बालुवामा पानी हुँदैन ?
जवाफमा उहाँले बहुतले बसपार्क कहिले बन्ने अहिलेनै टुङ्गो नलागेपनि यसको निर्माणमा आफुहरुले पनि पहल गरिरहेको तर काम अघी बढिनरहदा दुख लागेको भन्दै यो पार्क बन्दा त्यस परियोजनालाइ खासै असर नपर्ने दावि गर्नु भयो ।
यस क्षेत्रमा १ अर्व ८० करोड रुपैँयाको लगानीमा बहुतले बसपार्क सहित सुविधा सम्पन्न स्मार्ट सिटि बनाउने योजनाको काम अघी बढिरहेको छ ।
९ तलाको बसपार्कका लागि डिपीआर निर्माण भइसकेको छ । सो बसपार्कमा ठूला सवारी साधन भुइँतलामा पार्किङ गरिने छ भने सो भन्दा माथिल्ला तलामा क्रमिक रुपमा कमभार क्षमताका सवारी साधनहरू पार्किङ गर्ने व्यवस्था गरिने छ। बसपार्कमा चौथो तलासम्म सवारी पाकिङ हुने र सो माथि सपिङ कम्प्लेक्स, रेष्टुरेन्ट, आराम स्थल, मनोरञ्जन स्थल लगायतका संरचना हुने बताइएको छ।









