दमक, १२ जेठ / आफूलाई मन पराउने युवक लागु औषधको दुर्व्यसनमा फसेपछि युवतीले उसँग विवाह गरेर उसलाई सुधार्ने काम थाल्छिन् । तर आफू बुहारी भएर भित्रिसकेपछि युवकको बाबु नै मादक पदार्थको दुर्व्यसनी भई ज्यानै गएको पीडादायी अवस्था बन्यो ।
लागुऔषध दुर्व्यसन विरुद्धको नाटकको सार हो यो । जहाँ घरमै बाबु जड्याहा भएर घर व्यवहार नहेरेपछि छोरो पनि साथीहरुको लहै लहैमा लागेर लागु औषध दुर्व्यसनको शिकार भएको अवस्थाका उदाहरण हाम्रो समाज प्रसस्तै देख्न सकिन्छ । बालबालिकाको पहिलो पाठशाला नै घर भएकोहुँदा आफ्ना छोराछोरीलाई सही संस्कार दिन आवश्यक रहेको कुरालाई झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले नाटक कार्यक्रममार्फत सन्देश दिएको छ ।
कुलतबाट जोगाउनका लागि आफ्ना छोराछोरीहरुलाई सचेत गराउँदै निगरानी गर्न अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने आवश्यकता महसुस गर्नुहुन्छ शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल पनि ।
लागुऔषध दुर्व्यसन बढेको सन्दर्भमा शिवसताक्षी वडा नम्बर ६ ले अविको मिडिया हव प्रालि धनकुटालाई दुर्व्यसन विरुद्धको नाटक प्रस्तुत गर्ने कार्यक्रम प्रदान गर्यो । सचेतना प्रवाहमा सशस्त्र प्रहरीको ३८ नम्बर रिजर्ब गण हेडक्वार्टर लखनपुरले समेत सहकार्य गर्यो । त्यसपछि सोही सचेतनाका लागि शिवगञ्जमा नाटक प्रस्तुत भयो । धनकुटाको निजामति आवासीय माद्यमिक विद्यालय महालक्ष्मी नगरपालिकासहितका विद्यार्थी तथा शिक्षकहरु नाटकमा पात्रकारुपमा सहभागि थिए । बालबालिका दुर्व्यसनी भइहालेमा पनि समाजका हरेक पक्षले त्यसमा सकारात्मक भूमिका निर्वाह गरेर दुर्व्यसनमुक्त बनाउनु पर्नेमा नाटक निर्देशक ध्रुव भण्डारीको धारणा छ ।

लागु औषध दुर्व्यसनबाट अचेल गाउँघर समेत ग्रस्त बन्दै गएका छन् । शिवसताक्षीको शिवगञ्जमा समेत यसखाले समस्या बढेकाले सचेतनाको कार्यक्रम अघि बढाइएको वडा नम्बर ६ का अध्यक्ष मनोज खुलालले जनाउनु भयो । गाउँको समेत हविगत दर्शाउँदै उहाँले भन्नुभयो ‘गाउँ वस्तीमा दिनदहाडै चोरी हुने, समाजका तनाव सिर्जना गराउने काम लागुऔषध प्रयोगकर्ताबाट भइरहेको छ ।’
बढ्दो हिप्पी संस्कृति तथा देखासिकीले विश्व नै लागु औषध दुर्व्यसनको समस्या बढ्दो छ । नेपाल पनि त्यसबाट ग्रसित छ । त्यसमा पनि भारतसँग सीमा जोडिएको झापा जिल्ला आक्रान्त छ । यसका लागि झापामा आफूहरुले लगातार अपरेशन कार्य अघि बढाएको ३८ नम्बर रिजर्ब गण हेडक्वार्टर लखनपुरका उपरीक्षक निरञ्जन भण्डारी उपाध्यायले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागि शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्रा रोशन र उपप्रमुख नरमाया कार्कीले जिल्लाका १५ वटै पालिकाको संयुक्त बैठकले लागुऔषध भित्र्याउने सञ्जाललाई निस्प्रभावी बनाउने सहकार्यको निर्णय भएको जानकारी गराउनु भयो । ‘अब हामीले भारतबाट भित्रिने बिक्री वितरणको जालोलाई नष्ट गर्ने बाटोमा जिल्ला नै एकजुट बन्ने निर्णय भयो । त्यसका लागि कार्यक्रम र बजेट बनाउने काममा पालिका लागेको छ ।’– नगर प्रमुख थोप्राले प्रष्ट्याउनु भयो ।
समाजमा बढ्दो समस्याको समाधानको पक्षमा सञ्चार संस्थाहरुले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता बढ्दै गएकाले आफूहरुले पनि त्यसखाले भूमिका निर्वाह गर्दै आएको अविको मिडिया हव प्रालि धनकुटाकी प्रमुख कोकिला भण्डारीले प्रष्ट्याउनु भयो ।









