दमक,१६ जेठ । दमक नगरपालिका झापाको एक प्रमुख कृषि क्षेत्रको रूपमा परिचित छ । यहाँका कृषक सागसब्जी उत्पादनमा सकृय छन् । नगरपालिकाले आत्मनिर्भरता हासिल गर्न विविध कार्यक्रम र सहुलियत दिइरहेको छ । तर, अझै पनि केही प्रमुख तरकारीका लागि दमक बाहिरका बजार या त भारतीय बजारमै निर्भर रहनुपर्ने बाध्यता उस्तै छ ।
दमक ६ स्थित नयाँ सब्जीमा बिगत लामो समयदेखि तरकारी ब्यबसाय सञ्चालन गर्दै आउँनुभएका मोहन भट्टराई अधिकांश तरकारी दमक बाहिरबाट आउने गरेको बताउनुहुन्छ । भट्टराईका अनुसार यहाँ छिमेकी पहाडी जिल्ला ईलाम, उत्तरी मोरङ र धेरै मात्रामा सुनसरीबाट आयत हुने गरेका छन् ।
त्यस्तै दमकमै तरकारी ब्यबसायमा कार्यरत रेवती पराजुलीले दमकमा उत्पादन भएका तरकारी सिजनमा एकदेखि २ महिना मात्र बजारमा उपलब्ध हुने गरेको र अधिकांश तरकारीका लागि भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।
तरकारी बजार ब्यबस्थापन समिति दमकका अध्यक्ष कुमार श्रेष्ठले दमकमा उत्पादन हुने तरकारीले बजार पाएपनि मूल्य नपाउने गरेको गुनासो आउने गरेको बताउनुभयो । उहाँले बजारमा आउने तरकारी भारतबाट आउने भएतापनि कति मात्रामा आउछ त्यसको यकिन तथ्याङ्क आफूहरुले राख्ने नगरेको उहाँको भनाई छ ।
त्यसो त संघीयताको कार्यान्वयनसंगै स्थानीय सरकारमा कृषि शाखा छुट्टै छ । तर बजारमा स्थानीय क्षेत्रमा कति उत्पादन भए त्यसको तथ्याङ्क भने राख्ने काम नभएको कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईको भनाई छ । तरकारी बजार ब्यवस्थापन समितिसंग समन्वय हुन नसक्नु र जनशक्ति अभाबले पनि तथ्याङ्क राख्न कठिनाई भएको उहाको भनाई छ ।
दमक नगरले तरकारीमा आत्मनिर्भरता हासिल गर्न पहल जारी राखेको छ, तर स्थानीय उत्पादनलाई बजारमा प्रतिष्पर्धी बनाउँने, तथ्यांक व्यवस्थापन र प्रभाबकारी नीति निर्माणबिना पूर्ण आत्मनिर्भरता हासिल गर्न चुनौतीपूर्ण देखिन्छ ।









