दमक, २६ जेठ । निर्वाचनका बेला मतदाता मत हाल्नलाई लाइनमा बसे जसरी क्रमबद्ध बसेका छन् । ठाउँ ठाउमा लाइन मिलाउन सुरक्षाकर्मीकै शैलीमा अभिएका विद्यार्थीहरु । आ आफ्नो नाम र क्रम संख्या हेरेर मतपेटिकामा मतदान गरिरहेका थिए । दमक ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन सदन क्याप्टेन र भाइस सदन क्याप्टेन चयन निर्बाचनको प्रक्रियाको दृश्य थिए ती ।
निर्वाचनमा उम्मेदवारको नाम दर्ता, चुनाव चिन्ह वितरण, प्रचारप्रसारदेखि मतदान र मतदानपश्चात मतगणनाका लागि भएका प्रकृया विधिवत र औपचारिक ढङ्गले सम्पन्न भए । प्रचारप्रसारमा उम्मेदवार र सदनका सदस्यहरूको उत्साहपूर्ण सहभागिता देखियो । आफू नेतृत्वमा चुनिए विद्यालयमा विद्यार्थीहरुको व्यवस्थापन, आचरण सुधारदेखि खेलकुदको विकास गर्नेसम्मका योजना रहेको उम्मेदवार विद्यार्थी अप्सना खनाल र राजेश पोद्धारले सुनाउनु भयो ।
बिहान ११ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएको निर्वाचन निर्बाचन अधिकृत रहनुभएका विद्यालयका सहायक प्रधानाध्यपक भगिरथ मिश्रले बताउनुभयो । निर्वाचनमा विद्यालयका ७५ प्रतिशत विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको उहाँको भनाई छ ।
विद्यालयमा सैदान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि उत्तिकै आवश्यकता रहेकोले विद्यार्थीहरुको नेतृत्व चयन गर्न निर्वाचनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम ढकालको भनाइ छ । निर्वाचनले विद्यार्थीमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँको छ ।
लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति बढाउन सहयोग पुर्याउने विद्यालयले विश्वास लिएको छ ।









