पथरी, ९ असार / मोरङको पथरी शनिश्चरे नगरको १ नम्बर वडा कार्यालयको आयोजनामा महिला तथा बालबालिका अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा ४० जना बढी छात्रछात्राहरुको सहभागितामाझ कार्यक्रम सम्पन्न भएको हो ।
वडाध्यक्ष भीमकुमार राईले बालबालिका राष्ट्रको भविष्य भएको बताउँदै १८ वर्ष मुनिका बालबालिका तथा किशोर –किशोरीहरुले आफ्नो अधिकारबारे जानकारी राख्न पनि उहाँले अनुरोध गर्नुभयो ।
महिला तथा बालबालिका शाखाकी प्रमुख गीता कट्टेलले वडा भित्रका विभिन्न ६ वटा विद्यालयका विद्यार्थीमाझ महिलामाथि दुर्व्यवहार, हिंसा, चेलीवेटी बेचविखन, यस्ता विषयहरूमा सजग रहनुपर्छ भन्दै सहजीकरण गर्नुभएको थियो । यसैगरी, राजस्व शाखाका अधिकृत ताराप्रसाद ढकालले पनि राष्ट्रसङ्घले सन् १९८९ मा जारी गरेको महासन्धि अनुसार बालबालिकाका अधिकार सम्बन्धी प्रावधानहरू प्रष्ट पार्नुभएको थियो ।
मनिता थापाले कार्यक्रमको सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा नगर सञ्जालको अध्यक्ष मुरारी खनालको पनि उपस्थिति रहेको थियो ।
वडा तथा नगरस्तरीय बाल क्लबको गठन विस्तार सम्बन्धमा पनि कार्यक्रममा अन्तर्क्रिया भएको थियो ।
बालबालिका सम्बन्धी सामुदायिक विद्यालयतर्फ पञ्चायत माध्यमिक विद्यालय र सुनाखरी माध्यमिक विद्यालयबाट पाँच– पाँच जना विद्यार्थीहरू र संस्थागत विद्यालयका तर्फबाट एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालय र अन्नपूर्ण अङ्ग्रेजी माध्यमिक विद्यालय, भुपू सैनिक अंग्रेजी विद्यालय, न्यू प्योगोडा अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षक प्रतिनिधिहरूमा अन्नपूर्ण माविका प्रिन्सिपल भूमिप्रसाद पाठक, एभरेष्ट अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रतिनिधि हेमन्त सापकोटा, सुनाखरी माविबाट बलराम तिम्सिना, न्यू प्योगोडा माविका दुर्गा तिम्सिना र भूपू सैनिक बोर्डिङ स्कुलका भीमराज अधिकारी सहितको उपस्थिति रहेको थियो ।









