दमक, ११ असार / नयाँ भेरिएन्ट फैलिएयता झापामा तीनजनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।
कोरोनाको नयाँ भेरियन्ट फैलिएको एक महिनाको अवधिमा पहिलो पटक गत जेठ ११ गते बिर्तामोड ५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई त्यसपछि कोरोना देखिएको थियो । त्यस्तै तीन दिनअघि मेचीनगर ९ का ४३ वर्षीय पुरुषलाई कोरोना देखिएको छ । ती तीनैजनालाई आइसोलेसनमा राखिएको जनाइएको छ ।
कोरोनाको नयाँ भेरिएन्टको संक्रमणबाट देशमै पहिलो पटक इलाम सूर्योदय नगरपालिका १० फिक्कल बस्ने ४९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको थियो । पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु नभएको अवस्थामा नयाँ भेरियन्टबाट इलाममा एक महिलाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाको तथ्याङ्क अनुसार २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको मध्ये एक जना सङ्क्रमितको मृत्यु भएको हो । नेपालमा पुसयता २५ जिल्लाबाट १८७ जनामा कोरोना पुष्टि भएका छन्। कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १४७, कोशी प्रदेशमा सात, मधेश प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना रहेको महाशाखाले जनाएको छ ।
यो भेरियन्ट त्यति कडाखाले नभएको भएपनि बालबालिका, ज्येष्ठ तथा कमजोर शारीरिक अवस्था भएकाले अझ विशेष सतर्कता अपनाउन सरकारले सूचित गरेको छ ।










