उर्लाबारी, २३ भदौ / उत्तरपूर्वी मोरङको उर्लाबारीमा स्थापना भएको अरनिको हस्पिटल यसबेला सरकारी अस्पतालको समेत भार थेग्दै विशेषज्ञ सेवामा सक्रिय बनेको छ ।
विशेषज्ञ सेवासहितको अस्पतालको आवश्यकतालाई महसुस गरेर स्थानीय युवाहरुको सक्रियतामा २०७१ जेठ १५ गते हाडजोर्नी र फिजिसियन क्षेत्रका विशेषज्ञ सेवाबाट अस्पताल सुरु भएको हो । सो अस्पतालमा हाल हाडजोर्नी, फिजिसियनकासाथै जनरल सर्जन, भेन्टिलेटरसहितको आइसीयू, सीटी स्क्यान, हाडजोर्नी, नशा तथा बाथरोग, प्रसुति तथा स्त्री रोगसहितका विशेषज्ञ डाक्टर उपलब्ध छन् । जहाँबाट दूरविन विधिबाट पित्तथैलीको पत्थरी, एपेन्डिसाइड, किड्नीको पत्थरी, प्रोस्टेटसहितको अपरेशन गर्ने युरोलोजी सेवा, मुटु जाँच सम्बन्धि इको कार्डियोलोजी, पेटको इन्डोस्कोपी, पेटमा भएको बच्चाको अवस्था थाहा पाउने इनोमेली स्क्यान, फिजियोथेरापी सेवाका लागि मानिसहरुको घुँइचो लाग्ने गरेको अस्पतालका डाक्टर सन्दिप अधिकारीले जनाउनु भयो । ‘दैनिक अढाइसयदेखि ३ सयसम्म विशेषज्ञ सेवासहितको उपचारका लागि आउने गरेका छन् । हामीले उहाँहरुका लागि टाढा धाउनु पर्ने झन्झटबाट मुक्त गर्ने कोशिस गरिरहेका छौं ।’– उहाँले भन्नुभयो ।
नजिक पर्ने सरकारी अस्पतालहरुमा उपचार सेवामा हुने हेलचेक्राइपछि कतिपय विरामीहरु अरनिकोमा आउने गरेका देखिन्छन् । फिजियोथेरापीको सेवा विस्तार भएपछि थेरापी गर्ने विरामीको पनि चाप बढेको छ । विरामीहरुले विशेषज्ञ सेवाका लागि टाढा धाउनु नपर्ने भएपछि सहजता महसुस भएको थेरापीको उपचारमा रहनु भएकी उर्लाबारी ७ की हेमकुमारी लिम्बूले जनाउनु भयो । ‘नजिकै सरकारी अस्पताल भएपनि त्यहाँ कहिले के छैन, कहिले के छैन भन्ने र उपचारमा ध्यान नदिने गरेको देखिन्छ । त्यसको विकल्प जस्तो बनेको रहेछ अरनिको अस्पताल ।’ स्वास्थ्य बीमा कार्यक्रम समेत रहेको फाइदासहित उहाँले भन्नुभयो ।
नजिकै पर्ने उर्लाबारीको मंगलबारेमा रहेको सरकारी अस्पताल मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर सञ्चालनमा छ । जसको व्यवस्थापन समिति अध्यक्ष जिल्ला समन्वय समिति संयोजक रहने व्यवस्था छ । समितिका पदाधिकारीहरु प्राय विराटनगरका भएकाले त्यसको व्यवस्थापनमा समस्या भइरहेर चुस्त सञ्चालनमा समस्या छ । उपचारमा समेत चुस्तता नहुँदा समेत यसको फाइदा नजिकका निजी अस्पतालले लिइरहेको देखिन्छ ।
स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषको कार्यक्रम सञ्चालित अरनिकोमा वर्षमा १० हजार विरामी आकस्मिक उपचार र कुल ३० हजार बढीले उपचार सेवा प्राप्त गरेका छन् । लायन्स क्लब अफ उर्लाबारीले मेसिनको प्रवन्ध गर्ने भएपछि अव मिर्गौलाको डाइलासिस सेवाको तयारीमा अस्पताल जुट्दैछ । अहिले अस्पतालको भवन विस्तारको आवश्यकता थपिएको छ । ५० बेडको अस्पताललाई सय बेडको बनाउने तथा एनआइसीयु र व्लड बैंक सञ्चालन गर्ने स्वीकृतिको प्रक्रिया पनि थालिएको अस्पतालका अध्यक्ष लोलिम पोमुले जनाउनु भयो । उत्तरपूर्वी मोरङ तथा दक्षिणी इलामको चुलाचुली, पाँचथरका केही भागबाट समेत विरामी उपचारका लागि आउने गरेको जनाउँदै उहाँले भन्नु भयो ‘विशेषज्ञ उपचारका लागि खर्च गरेर लामो बाटो विराटनगर, धरान धाउनु पर्ने वाद्यता देखेर यहाँ अस्पताल खोलियो । जसबाट स्थानीय क्षेत्रमै सेवा दिन पाउँदा आफूहरु पनि खुसी र सेवाग्राही पनि खुसी भएको अवस्था छ ।’









