दमक, ३१ भदौ । गत भदौ २३ र २४ गते जेन्जीको आन्दोलन सुरु भएको थियो । आन्दोलनमा नगरपालिका लगायतका सार्वजनिक सम्पत्तीमा आक्रमण गर्न सुरु भएपछि केही समयको लागी सम्पूर्ण सरकारी कामहरु पनि बन्द गरिएको थियो । यस बिचमा दमक नगरपालिकाको भवन पनि प्रयोग गर्न नमिल्ने गरी क्षती पुर्याईयो, आगजानी गरियो । भदौ ३१ गतेबाट भने दमक नगरपालिका लगायत दमक नगरमा रहेका सम्पूर्ण वडाले आफ्नो सेवा दिने भनी विज्ञप्ती जारी गरेको थियो । तर,झण्डै एक सातापछि खुलेका वार्डहरुमा सेवालिनेहरु कति आए सेवा दिनेहरुले के गरे ?
धेरै दिन पछि खुलेका वडा कार्यलयहरुमा सेवाग्राहीहरुको भिड देखिन्थ्यो । आन्दोलनमा दमक नगरपालिकाको भवन मात्रै जलेन त्यहाँ रहेको थुप्रै कागजात र उपकरणहरु पनि जलेर गए । यस्तोमा नगरपालिका र वडामा रहेका जनप्रतिनिधी र कर्मचारीहरु पनि क्रसित भएका छन् । यस्तोमा वडामा सेवा लिन आएका सेवाग्राहीले आन्दोलन भन्दा अगाडीको जस्तै सेवा पाईरहेका छन् की छैनन् ?
दमक नगरपालिका वडा नं ६ मा सेवा लिन आउनुभएका सेवाग्राही गोविन्द बस्नेत वडा कार्यलयमा स्वास्थ्य बिमा नविकरण गर्न आउनुभएको थियो । धेरै दिनपछि खुलेको भएपनि वडामा सम्पूर्ण कर्मचारी र जनप्रतिनिधीहरु पनि उपस्थित भई सेवा पाएको उहाँले प्रतिकृया दिनुभयो ।
त्यस्तै दमक नगरपालिका वडा नं ८ मा आफ्नो नागरिकता हराएर प्रतिलिपी निकाल्न सिफारिस लिन आउनुभएकी दमक ८ की दुर्गा चुडाल आफ्नो काम एकदमै छिटो र पहिला जस्तै भईरहेको र वडाको सेवाप्रति सन्तुष्ट रहेको बताउनुहुन्छ ।
दमक नगरपालिका वडा नं ५ को वडा कार्यलय आफ्नै नरहेको र भाडामा रहेकोले आफ्नो सामानहरु सुरक्षित रहेको छ । तर, दमक नगरपालिकाको कार्यलय भने पूर्ण रुपमा धस्त भएकाले आफूहरुलाई चाहिने सामाग्रीहरुको अभाब महसुस गरेको र अभाब भएपनि आफूहरुले पहिला जस्तै सेवा दिन सक्ने बताउनुहुन्छ वडा नं ५का अध्यक्ष ईन्द्र बहादुर गुरुङ ।
यसरी दमक नगरपालिकामा रहेका सम्पूर्ण वडाहरुले आन्दोलन पछि पनि आफ्नो सम्पूर्ण सेवाहरु पहिलाको जस्तै दिने कोसिस गरिरहेको छ । तर, नगरपालिका संग सम्बिन्धीत सेवाहरु भने अझै सुरु हुन सकेको छैन ।









